नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन्। सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको एकीकृत कारोबार सुरु भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
बैंक, वित्तीय संस्थाहरू मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरू स्वस्थ र सबल बन्ने उल्लेख गर्दै उनले मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने प्रस्ट्याए। बैंकहरूको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताउँदै उनले साना कर्जालाई वित्तीय संस्थाले प्राथमिकता दिनुपर्ने धारणा राखे।
‘बैंकहरू ठूला र संस्थाहरू मर्जर भइराख्दा बैंक वित्तीय संस्था आफैँमा सेल्फ रेगुलेसनमा पनि बेसी जानुपर्ने, आफ्नै नियमन बढाउनुपर्ने, बैंकसँग भएको रिसोर्सलाई धेरैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने राष्ट्र बैंकले एक खालको नियम ल्याएको छ। त्यो नियमभन्दा पनि आफैँ प्रोएक्टिभ्ली राष्ट्रिय उत्पादनमा बढी लाग्नुपर्ने हाम्रो रिसोर्स परिचालनमा त्यो आवश्यकता हामीले देखेका छौँ। बैंक वित्तीय संस्थाहरूले सानो कर्जालाई प्रमोट गर्नुपर्छ,’ गभर्नर अधिकारीले भने।