कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण
कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

चेन सोङ, चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आइपुगेका छन् । उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औँ राजदूतका रूपमा सुन्दर देश नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन् । दुई देशको शीर्ष नेतृत्वबीच भएका विगतमा समझदारी कार्यान्वयन गर्न आफू सक्रिय रहने राजदूतले स्पष्ट पारेका छन् । 

राजदूत सोङले हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालीन मित्रता रहेको बताएका छन् । उनले विगतमा चिनियाँ प्रख्यात भिक्षु फक्सियन र नेपाली प्रख्यात भिक्षु बुद्धभद्रले गरेको भ्रमणको आदानप्रदान उल्लेख गर्दै प्रसिद्ध नेपाली शिल्पकार अरनिको चीन आएर बेइजिङमा मियाओइङ मन्दिर निर्माण गरेको इतिहास स्मरण गरे । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र चीनले एक–अर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको पनि उनले उल्लेख गरेका छन् । 

०७२ मा नेपालमा गएको आम विनाशकारी भूकम्प र तीन वर्षयता कोभिड– १९ विरुद्धको लडाइँको संकटपूर्ण घडीमा दुई देशले समान व्यवहार, मैत्रीपूर्ण सहयोग र पारस्परिक लाभको उदाहरण प्रस्तुत गर्दै एक–अर्कालाई आपसी सहयोग गरेको पनि राजदूत सोङले बताएका छन् । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको राजकीय भ्रमण गरेको, दुई राष्ट्रप्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको उल्लेख गरेका छन् । 

सुझावित समाचार