विन्टर डिप्रेसनबाट जोगिन घाममा बस्नुस्

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

अनिद्रा, काममा ध्यान केन्द्रित गर्न नसक्ने, निराशा बढ्नेजस्ता लक्षण दुई हप्ताभन्दा बढी देखिएमा सिजनल अफेक्टिभ डिसअर्डर वा विन्टर डिप्रेसन भएको मानिन्छ । शरीरमा भिटामिन डीको कमी तथा विभिन्न कारणले दिमागमा सेरोटोनिन र मेलाटोनिन नामक रसायनको गडबडी भएर यस्तो डिप्रेसन निम्तिन्छ । घाममा कम बस्ने मानिसहरूमा प्रायः यस्तो समस्या देखिन्छ । 

हिउँदमा देखिने डिप्रेसनका लक्षण गर्मी सुरु भएपछि अधिकांशमा आफैँ हराएर जाने गर्दछन् । केही प्रतिशतमा भने सिजनल देखिएको डिप्रेसन लामो समयसम्म रहने र सिभियर भएर जाने सम्भावना रहन्छ । सामान्यतया वंशानुगत गुण, आर्थिक, सामाजिक कारण वा विनाकारणसमेत डिप्रेसनको समस्या निम्तिने गर्छ । भावनात्मक रूपमा कमजोर रहने व्यक्तिहरू यस्तो समस्याबाट बढी प्रभावित भइरहेका हुन्छन् । 

कसरी थाहा पाउने ?
विन्टर डिप्रेसन भएमा निराशा बढ्ने, दिक्क लाग्ने, उदास रहने, अनिद्रा र भोक नलाग्नेजस्ता लक्षण देखिन्छन् । डिप्रेसन सिभियर हुँदै गएमा निराशापन अत्यधिक बढ्ने, ध्यान केन्द्रित गर्न नसक्नेजस्ता लक्षणले दैनिक क्रियाकलापमा प्रत्यक्ष असर गर्छन् । पर्याप्त मात्रामा घाम ताप्ने गर्नाले यस्तो समस्या धेरै हदसम्म नियन्त्रणमा आउँछ । 

चिकित्सकको सल्लाह कति आवश्यक ? 
समस्या देखिएमा मनमा कुरा गुम्स्याएर राख्नुहुँदैन । सामान्य लक्षण देखिएमा समस्याको बारेमा साथीभाइसँग कुरा सेयर गर्न सकिन्छ । यस्तो गर्दा मन हल्का हुन्छ । जटिल खालका लक्षण देखिएमा चिकित्सकबाट काउन्सिलिङ लिने वा औषधिसमेत प्रयोग गर्न सकिन्छ । 

घाम नै नलाग्ने स्थानमा बस्नेहरूका हकमा उपचारका लागि लाइट थेरापी गरिन्छ । तर, नेपालमा लामो समयसम्म घाम नै नलाग्ने अवस्था नरहेकाले लाइट थेरापी आवश्यक पर्दैन ।

घाम ताप्दाका फाइदा 

राम्रो मुड : सूर्यको प्रकाशबाट भिटामिन डी प्राप्त हुन्छ । यसले मस्तिष्कलाई ऊर्जाशील बनाउँछ र विभिन्न रोगबाट हामीलाई जोगाउँछ । भिटामिन डीको लेभल बढ्दा मुड फ्रेस हुन्छ ।

स्वस्थ तौल : इडिनवर्ग र साउथह्याम्पटन विश्वविद्यालयका अध्ययनकर्ताहरूका अनुसार युभी रेजले निट्रिक अक्साइड उत्पादन गर्छ । यस प्रोटिनले मोटोपन र टाइप २ डाइबेटिज कम गर्न सहयोग गर्छ ।

राम्रो निद्रा : हरेक दिन बिहान १५ मिनेट घाम ताप्दा राम्रो निद्रा पर्ने विभिन्न अध्ययनले देखाएका छन् । उच्च रक्तचाप नियन्त्रणका लागि पनि घाम ताप्नु फाइदाजनक हुने युनिभर्सिटी अफ इडिनवर्गको अध्ययनले देखाउँछ । 

सावधानी : तपाईं लामो समय घाम ताप्दै हुनुहुन्छ भने केही सावधानी अवश्य अपनाउनुपर्छ । हल्का कपडा लगाएर मात्रै घाममा बस्नुस्, जसकारण घामको विकिरण छालामा प्रत्यक्ष पर्न पाउँदैन र विभिन्न समस्याबाट जोगिन सकिन्छ । 

यी कुरामा ध्यान दिनुस् 

फलफूल प्रशस्तै खानुस् : फलफूल र हरियो सागपात धेरैभन्दा धेरै सेवन गर्नुस् । तातो सुप र माछा खानुस् । गाँजर र आलुले पनि चिसोमा प्रतिरोधी क्षमतालाई बलियो बनाउन सहयोग गर्छन् । 

प्रशस्तै पानी पिउनुस् : गर्मीमा मानिसहरू प्रायः पानी पिइरहन्छन् । तर, जाडोमा पनि शरीरलाई त्यति नै पानीको आवश्यकता पर्छ भन्ने स्मरण गर्न आवश्यक छ । चिसो बढ्दा कतिपयले अल्कोहल, कफी र चियाको सेवन पनि बढाउँदै लग्छन् । जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यसबाट टाढा रहन जरुरी छ । 

न्यानो भएर बस्नुस् : यदि तपाईं लामो समय बाहिर बिताउनुहुन्छ, विशेषगरी बिहान–बेलुकीको समय बाहिर निस्कनुहुन्छ भने तपाईंले शरीरलाई न्यानो बनाइराख्ने कपडा लगाउनुपर्छ । नत्र, चिसोयाममा धेरै समस्या देखिन्छन् । मोजा, पन्जा, टोपी, चेस्टगार्डलगायतको प्रयोग गर्न नभुल्नुस् । 

व्यायाम गर्नुस् : जाडोमा बिहानै हिड्न निस्कनु राम्रो हुँदैन । हल्का घाम लागेपछि मात्रै बाहिर हिँड्न निस्कनुस् । कुनै न कुनै शारीरिक गतिविधिमा सक्रिय भइरहनुपर्छ । जिम सेन्टर वा घरमै पनि योग तथा व्यायाम गर्न सकिन्छ । यसले मस्तिष्क र शरीरलाई चलायमान बनाउँछ र अल्छीपन हटेर जान्छ । शरीरमा रक्तसञ्चार राम्रो हुन्छ, मुड फ्रेस बन्छ र निद्रा राम्रो पर्छ ।

सुझावित समाचार