निर्णय–प्रक्रियामा युवाको सहभागिता घट्दो

हामीले लागू गरेका कानुनसँग युवाले सबैभन्दा लामो समय व्यतीत गर्ने हुनाले युवालाई निर्णय प्रक्रियामा संलग्न हुने मौका दिनुपर्छ

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उमेरका सन्दर्भमा गरिएको टीकाटिप्पणीलाई लिएर क्रुद्ध बनेका छन् । गत डिसेम्बरमा आफ्ना सहयोगीमाझ ‘तपाईंहरूलाई लाग्छ कि मेरो उमेर मलाई नै थाहा छैन ?’ भन्दै कड्किएका थिए । सन् २०२४ को चुनावी प्रतिस्पर्धामा भाग लिने ८० वर्षीय बाइडेन परिस्थितिअनुकूल रहे ८६ वर्षको उमेरसम्म पदमै रहनेछन् । वास्तवमा बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् ।

७६ वर्षीय डोनाल्ड ट्रम्प र सिनेटमा बहुमत भएका नेता ७२ वर्षीय चक सुमरजस्ता अन्य उल्लेखनीय अमेरिकी नेतालाई हेर्दा उमेर एक विवादास्पद मुद्दा बनेको छ । उमेर पार्टी नेतृत्वमा विद्यमान मुद्दा मात्र होइन । सन् २०२० देखि २०२२ मा अमेरिकी विधायिका सदनका औसत प्रतिनिधिसभा सदस्य औसत नागरिकभन्दा करिब २० वर्ष जेठा छन् । 

गत सेप्टेम्बरको सिबिएस न्युज सर्वेक्षणअनुसार अमेरिकी राजनीतिमा युवाको कमीलाई लिएर चिन्तित छन् । सहभागी करिब ४७ प्रतिशत उत्तरदाताले निर्वाचित पदमा धेरै युवाको प्रतिनिधित्व भए राजनीतिमा सुधार हुने विश्वास गर्छन् । त्यसबाहेक नोभेम्बर २०२२ मा रोयटर्स/इप्सोसको सर्वेक्षणमा १० मध्ये नौ अमेरिकीले राष्ट्रपति हुन ७५ वर्षको उमेरहद उपयुक्त हुने बताएका छन् । हामीले हाम्रो हालैको पुस्तक युथ विदाउट रिप्रिजेन्टेसनमा व्यवस्थापिका र क्याबिनेटमा युवा–वयस्कको न्यून प्रतिनिधित्वबारे लेखेका छौँ ।

हामीले युवा–वयस्क अर्थात् ३५ वर्ष वा सोभन्दा कम उमेर युवा निर्णयकर्ता दुर्लभ हुने गरेको पाएका छौँ । विश्वव्यापी रूपमा १८ देखि ३५ वर्षका युवाले विधायिकामा तीन गुणा कम प्रतिनिधित्वको सामना गर्छन्, जबकि यस समूहका मतदाताको संख्या विधायकको अनुपातमा तीन गुणा र क्याबिनेट सदस्यको अनुपातमा १० गुणा ठूलो छ । हामीले यो असमानता जापान एवं भारतजस्ता लोकतन्त्र र इजिप्टजस्ता गैरलोकतान्त्रिक मुलुकमा पनि पाएका छौँ । हामीले न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कसँग अन्तर्वार्ता लिएका थियौँ । उनका विचारले उमेरसम्बन्धी चुनौतीका धेरै पक्ष समेट्छ :

‘मेरा लागि विधायकको ज्येष्ठ उमेर समस्या हो । अहिले विश्वमा हालसम्मकै सबैभन्दा ठूलो युवा पुस्ता छ । यदि अहिलेको पुस्ताभन्दा दशकौँ पुरानो पुस्ताले निर्णय लिने हो र युवा पुस्ताको दृष्टिकोणबारे सचेत नहुने हो भने गम्भीर लोकतान्त्रिक क्षति हुनेछ भन्ने मलाई लाग्छ । पहिले म पनि संसद्मा सहभागी हुनेमा केही परिपक्वता र पृष्ठभूमि हुनुपर्छ भन्ने मान्यता राख्थेँ । अहिले भने म यसमा विश्वास गर्दिनँ । अहिले नयाँ दृष्टिकोण भएका युवा संसद्मा होऊन् भन्ने चाहन्छु । 

हामीले लागू गरेका कानुनसँग युवाले सबैभन्दा लामो समय व्यतीत गर्ने हुनाले युवालाई निर्णय प्रक्रियामा संलग्न हुने मौका दिनुपर्छ
 

निर्णय लिने क्रममा युवा वयस्कको न्यून प्रतिनिधित्वले महत्वपूर्ण मुद्दा एजेन्डाबाट बाहिर जान सक्छ । युवा प्रतिनिधित्व न्यून हुँदा जलवायु परिवर्तनका मुद्दा उपेक्षित हुन सक्छन् । यति मात्र नभई युवाको न्यून प्रतिनिधित्वले मतदाता सहभागिता घट्नेछ र युवामाझ राजनीतिक विषयवस्तु चासोको विषय बन्नेछैन, अर्थात् राजनीतिको अलगावको दुश्चक्रमा योगदान हुन सक्छ ।

हामीले युवा उम्मेदवार निर्वाचन प्रक्रियामा वृद्ध उम्मेदवारको तुलनामा कम सफल हुने सम्भावना पाएका छौँ । आंशिक रूपमा यसका पछाडि चुनावी प्रतिस्पर्धामा जित्ने सम्भावना कम भएका क्षेत्रमा युवा उम्मेदवार खडा गर्नु र उम्मेदवारी सूचीमा युवा न्यून प्राथमिकतामा पर्नुजस्ता कारण छन् । तर, यी बेफाइदा सबै ठाउँमा लागू नहुन सक्छ । हामीले विश्लेषण गरेका ५२ देशका दुई सय ७० भन्दा बढी पार्टीमा नवगठित पार्टीमा सामान्यतया युवा सांसद रहेको पाएका छौँ । तर, यिनै पार्टी परिपक्व हुँदै जाँदा जनप्रतिनिधि पनि वृद्ध हुँदै गइरहेका छन् । युवा नेता भएका पार्टीका विधायिकामा युवा समूह भएको देख्न सकिन्छ ।

युवा उम्मेदवारको अनुभवहीनता मुख्य अवरोध हो । यति भन्दै गर्दा अनुभवबाहेकका अन्य अवयव अर्थात् पहिले विजय हासिल गरेकै नेता फेरि निर्वाचित हुने प्रवृत्तिका कारण चुनावी उम्मेदवारमा युवा छनोटमा पर्दैनन् । यसबाहेक विश्वका थुप्रै सदनमा वरिष्ठताको संस्कृति व्याप्त छ, जसले युवालाई बाहिर राख्ने काम गर्छ । 

हामीले अध्ययन गरेका सय मुलुकमा हामीले सांसद हुनका लागि तोकिएको न्यूनतम उमेर आवश्यकताका प्रभाव केलाएका छौँ । विश्वभरका धेरै मुलुकले २१, २५ वा ३० वर्षभन्दा माथिकालाई मात्र चुनावी प्रतिस्पर्धामा उत्रिने अनुमति दिन्छन् (अमेरिकी सिनेटले उम्मेदवार कम्तीमा पनि ३० वर्षको हुनुपर्छ) । 

यी नियमले युवासमक्ष कानुनी अड्चन पेस मात्रै गर्दैन, बरु राजनीति कसका लागि हो भन्ने संकेत गर्छ । यसबाहेक समानुपातिक निर्वाचन हुने स्केन्डिनेभिया क्षेत्रका मुलुकमा युवा–वयस्क प्रतिधिनित्वको हिस्सा बढी रहेको पाएका छौँ । क्याबिनेट हेर्दा पनि यस्तै प्रवृत्ति पाउँछौँ । उदाहरण, युवा नेता भएको दलले क्याबिनेटमा पनि युवामन्त्री पठाउने गर्छ । यसबाहेक हामीले युवा सांसदले युवा मन्त्रिमण्डल खोजेको पाएका छौँ । 

परिवर्तन ल्याउन हामीले के गर्न सक्छौँ ? पदावधिको सीमितताले युवालाई अवसर दिन सक्छ । पदमा उम्मेदवार हुन न्यूनतम उमेर १८ वर्ष तोकेमा युवालाई राजनीतिमा प्रवेश गर्न प्रोत्साहन मिल्नेछ । राजनीतिक दलले संगठनात्मक स्तरमा ज्येष्ठता संस्कृति परिवर्तन गर्न प्रयास गर्नुपर्छ र यदि गम्भीरतापूर्वक लागू गर्ने हो भने आरक्षण एक सफल रणनीति हुन सक्छ ।हामीले लागू गरेका कानुनसँग युवाले सबैभन्दा लामो समय व्यतीत गर्छन् । युवालाई निर्णय प्रक्रियामा संलग्न हुने मौका दिनुपर्छ ।
(सन्डस्ट्रोम गोथेनबर्ग विश्वविद्यालयका सहप्राध्यापक हुन् भने स्टोकेमेर ओटावा विश्वविद्यालयका शोधकर्ता हुन्) 
द कन्भर्सेसनबाट

 

सुझावित समाचार