खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा आबद्ध विदेशी खेलाडीको श्रम स्वीकृति र प्रतियोगिता सञ्चालनका सम्बन्धमा आवश्यक प्रमाण कागजात पुनः माग गरेको छ । साथै, लिगमा सम्भवतः भएको स्पट फिक्सिङ र फिक्सिङसम्बन्धमा राखेपले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाल टी–२० लिगको पछिल्लो गतिविधिबारे आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
राखेपको बुधबार बसेको कार्यकारी समितिको बैठकले राखेपलाई बेवास्ता गरिएको र प्रतियोगिता सञ्चालनका क्रममा नेपाल क्रिकेट संघ (क्यान)बाट भएको कमजोरीसँगै विसंगतिबारेमा ध्यानाकर्षण भएको जनाउँदै एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । राखेपले कुँवरको संयोजकत्वमा गठित कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । ‘सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको छ,’ निर्णयमा भनिएको छ ।
क्यानले बुझाएको छैन आवश्यक कागजपत्र
कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी, खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । ‘क्यानको आयोजनामा काठमाडौंमा भइरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरूको श्रमस्वीकृति एवं प्रतियोगिता सञ्चालनका सम्बन्धमा परिषद्ले संघसँग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको बेवास्ता भइरहेको छ, पछिल्लो समय प्रतियोगिता सञ्चालनका क्रममा संघबाट भएका कमजोरी एवं विसंगतिकाब बारेमा सार्वजनिक विषयप्रति राखेपको गम्भीर ध्यानाकर्षण भएको छ,’ राखेपले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रमाण भेटिए कार्यालयमा उजुरी गर्न अनुरोध
नेपाल टी–२० लिगको मंगलबार काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक सदस्यलाई खेल मिलेमतोका लागि प्रस्ताव आएको खुलासा गरेका थिए । यसैगरी, नेपाली कमेन्टेटर सचिन तिमिल्सिनाले सामाजिक सञ्जालमा टी–२० लिगमा स्पट फिक्सिङ भइरहेको खुलासा गरेका थिए । यसैगरी, नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले समेत सोसल मिडियामा नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भइरहेको दाबी गरेका छन् ।
मल्ल र तिमल्सिनाको दाबीसँगै गृह मन्त्रालयले राष्ट्रिय अनुसन्धान ब्युरो (सिआइबी)लाई टी–२० लिगको अनुसन्धान गर्न निर्देशन दिएको थियो । यसैबीच, आयोजक क्यानले पनि बुधबार प्रेसविज्ञप्ति जारी गर्दै ‘म्याच फिक्सिङ’ र ‘स्पट फिक्सिङ’ सम्बन्धमा फैलाइएको समाचार भ्रामक भएको जनाएको छ । ‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पु¥याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्ने क्यान प्रतिबद्धता’ जनाउँछ ।
यसैगरी, क्यानले म्याच फिक्सिङ भएको प्रमाण पाए कार्यालय अथवा ‘एन्टिकरप्सन युनिट’मा उजुरी गर्न अनुरोध गरेको छ,’ क्यानको विज्ञप्तिमा भनिएको छ । प्रतियोगिता सुरुअघि नै नेपाल टी–२० विवादको भुमरीमा रुमल्लिएको थियो । प्रतियोगिता सुरु भएपछि कुनै न कुनै विवाद आइरहेका छन् । खेलाडीले पारिश्रमिक नपाउनु, प्रतियोगिताको व्यवस्थापन भारत जानु तथा विदेशी खेलाडी घर फर्कनु नै पछिल्लो तीन दिनयता टी–२० लिगकै मुख्य घटना भए । क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई जिम्मेवारी सुम्पिएको छ ।