हेटौँडा भेट्रान्स क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको राष्ट्रिय भेट्रान्स कप एट ‘ए’ साइड फुटबल प्रतियोगितामा बुधबार एक्स भेट्रान्स पोखरा, हेटौँडा भेट्रान्स मकवानपुर, एमएमसी काठमाडौं र बानेश्वर भेट्रान्स काठमाडौं विजयी भएका छन्।
हेटौँडाको पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगितामा बुधबार ४ खेल सम्पन्न भएका हुन्। बुधबार भएका चार खेलमा तीन खेल टाइब्रेकर र एक खेल निर्धारित समयमा निर्णय भएका छन्।
बुधबारको पहिलो खेलमा एक्स भेट्रान्स पोखरा विजयी भएको छ। पोखराले नागस्वती भेट्रान्स हेटौँडालाई ३–२ गोल अन्तरले हराएको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। यस्तै, बुधबार भएको दोस्रो खेलमा वीरगन्ज भेट्रान्स पर्सालाई टाइब्रेकरमा हराउँदै हेटौँडा भेट्रान्स सुपर विजयी भएको छ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। हेटौँडाले वीरगन्जलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो। यस्तै, बुधबारबाट नै भएको तेस्रो खेलमा वीरगन्ज सिटी पार्सालाई २–० गोल अन्तरले हराउँदै एमएमसी काठमाडौं विजयी भएको छ। एमएमसीको जितका लागि प्रकाश रानामगर र शिशिरबहादुर हमालले गोल गरे।
यस्तै, बुधबार भएको चौथो खेलमा अभिषेक चर्च नवलपरासीलाई टाइब्रेकरमा हराउँदै बानेश्वर भेट्रान्स अघिल्लो चरणमा प्रवेश गरेको छ।
निर्धारित समय दुवै टोलीले एक-एक गोलको बराबरी खेलेपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो। खेलमा बानेश्वरका नारायण कार्की र अभिषेक चर्चका गणेश श्रेष्ठले गोल गरेका थिए। टाइब्रकेरमा बानेश्वर ७–६ गोल अन्तरले विजयी भएको हो।
भोलि बिहीबारबाट दोस्रो चरणको खेल सुरु हुने आयोजकले जानकारी दिएको छ। २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको विभिन्न स्थानका १७ वटा टिमको सहभागिता छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।