विकास प्राधिकरण : जनशक्ति नहुँदा काममा समस्या

बुधबार, २० पुष, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको समन्वयात्मक रूपमा योजनाबद्ध एवं एकीकृत विकास गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं उपत्यका विकास प्राधिकरणमा स्वीकृत दरबन्दीअनुसारका कर्मचारीको व्यवस्था नहुँदा कार्यसम्पादनमा असर गरेको छ ।

प्राधिकरणमा स्वीकृत दरबन्दीअनुसार विकास आयुक्तसमेत एक सय ३७ जनाको दरबन्दी छ । तर, हाल कार्यरत भने ६० मात्र रहेको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले  जानकारी दिए ।  प्राधिकरणमा दरबन्दीअनुरूपका कर्मचारी नभएपछि लेखासहित १३ जना कर्मचारी भने निजामती सेवाबाट काजमा ल्याएको पनि उनले बताए । 

लामो समयदेखि पदपूर्ति नभएकाले हाल कार्यालयमा आठौँदेखि दशाैँ तहसम्मका कर्मचारी पनि छैनन् । यसका कारण हाल प्राधिकरणमा आठौँ तहका ‘डिभिजनल प्लानर’, ‘डिभिजनल इन्जिनियर’, ‘वरिष्ठ कानुन अधिकृत’ र ‘प्रशासकीय अधिकृत’ पद रिक्त छ । 

यसैगरी नवौँ तहका ‘सिनियर डिभिजनल इन्जिनियर’ र ‘वरिष्ठ प्रशासकीय अधिकृत’ पद पनि रिक्त रहेको छ । दशाैँ तहका इन्जिनियरिङ र प्रशासनतर्फका उपविकास आयुक्त पद पनि प्राधिकरणमा लामो समयदेखि रिक्त रहेको जनाइएको छ ।


 कार्यालय स्वीकृत दरबन्दीको करिब ४० प्रतिशत जनशक्तिका भरमा सञ्चालन गर्नुपर्दा प्राधिकरण ऐन, २०४५ र नियमावली, २०६८ ले तोकेका काम गर्न असहजता भएको प्रशासकीय अधिकृत अर्यालले बताए । प्राधिकरणलाई ऐनले तोकेका अन्य कार्यसम्पादनमा पनि जनशक्ति अभावले प्रभाव परेको छ ।

सुझावित समाचार