उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले चार बजेसम्म हुँदै आएको यातायात व्यवस्था विभागको कामलाई पाँच बजेसम्म पुर्याउन निर्देशन दिएका छन् । मंगलबार काठमाडौं उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयहरूको अनुगमन गर्दै उनले कार्यालय प्रमुखहरूलाई नयाँ लाइसेन्स प्रक्रिया छिटो–छरितो प्रक्रियाबाट गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘गुणस्तरीय सेवामा नो कम्प्रमाइज, नियमपूर्वक काम गर्नुहोस् ।
कार्यालयमा बिचौलियाहरूको बिगबिगी भएको गुनासो आएको छ ।’ समग्रमा बिचौलियाको अन्त्य र बिचौलियाको चलखेल बन्द गर्नसमेत उनले कडा निर्देशन दिएका छन् । गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिँदै श्रेष्ठले कुनै सेवा–सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए जानकारी दिन निर्देशन दिए ।
उपप्रधानमन्त्री श्रेष्ठले लाइसेन्स कार्यालय ठूलोभर्याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको अनुगमन–निरीक्षण गरेका थिए । सोही क्रममा उनले सेवा दिने समय बढाउन, छिटो–छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न निर्देशन दिएका हुन् । अनुगमनका क्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सहसचिव, विभिन्न विभागका प्रमुख र प्रदेश मन्त्रालयका सचिवलगायतकाको सहभागिता रहेको थियो ।