बागमती प्रदेशको पहिलो बैठकमा ५ वटा अध्यादेश टेबुल

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा विभिन्न पाँचवटा अध्यादेश टेबुल गरिएको छ। सोमबारको बैठकमा अध्यक्षता गरिरहेका प्रदेश सभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाएपछि पाँचवटा अध्यादेश टेबुल भएको हो।

यस्तै, बैठकले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित पनि गरेको छ। 

यसैगरी, बैठकले बागमती प्रदेश सभाका सभामुख र उपसाभामुखको निर्वाचनको मितिसमेत तय गरेको छ। बैठकले सभामुख र उपसभामुखको चयनका लागि पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। 

प्रदेश सभाको बैठकले उक्त निर्वाचनको लागि प्रदेश सभा सचिवालय हेटौँडाका सचिव कृष्णहरि खड्कालाई आवश्यक प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिएको छ। सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिले सभामुखको निर्वाचनको तयारी गरेको हो। 

बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेश सभा नियामावाली पहिलो संशोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम ५ जना सदस्य मनोनीत गरेको छ।

प्रदेश सभाको नियमित बैठक सञ्चालनको क्रममा सभामुख र उपसभामुख अनुपस्थिति भएमा प्रदेश सभाका सदस्य उर्मिला नेपाल (नेपाली कांग्रेस), भारती पाठक (नेकपा एमाले), लक्ष्मी घिमिरे (राप्रपा), डा. राजेन्द्रमान श्रेष्ठ (एकीकृत समाजवादी) र ठाकुरप्रसाद ढकाल (नेकपा माओवादी केन्द्र)लाई मनोनीत गरिएको हो।

यस्तै, सोमबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गरेको अध्यादेश, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबुल गरेका छन्।  

यसैगरी, प्रदेश संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबुल गरेका छन् भने कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईंले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबुल गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ पनि टेबुल गरेका थिए। प्रदेश सभाको दोस्रो बैठक पौष २९ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।
 

सुझावित समाचार