प्रविधि कम्पनी र कर्मचारीका लागि कठिन वर्ष सन् २०२२

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

सन् २०२२ व्यवसाय र कर्मचारी दुवैका लागि कठिन रह्यो । यो वर्ष धेरै कम्पनीले ठूलो संख्यामा आफ्ना कर्मचारी कटौती मात्र गरेनन्, आर्थिक नोक्सानीको समेत साक्षात्कार गरे । कम्पनीहरूले नाफा कमाउन संघर्ष गर्दा त्यसको असर कर्मचारीमा प¥यो । लागत कटौतीदेखि पुनर्संरचनाका योजनासम्ममा कम्पनीहरूले कर्मचारी कटौतीलाई नै प्राथमिकता दिँदा थुप्रैले रोजगारी गुमाउन पुगे ।

प्रविधि जायन्ट मेटा, ट्विटर, अमेजनदेखि माइक्रोसफ्टसम्मका कम्पनीमा कर्मचारी कटौतीको होड नै देखियो । गुगल कामदार कटौतीको घोषणा गर्ने पहिलो ‘टेक जायन्ट’ बन्यो । यसबीच, शीर्ष टेक कम्पनीहरूले हजारौँ कर्मचारी निकालिसकेका छन् । विज्ञहरूका अनुसार विश्वव्यापी रूपमा प्राविधिक क्षेत्रमा करिब दुई लाख मानिसले आफ्नो जागिर गुमाएका छन् । अमेरिकास्थित च्यालेन्जर, ग्रे एन्ड क्रिसमसको रिपोर्टअनुसार समग्रमा अमेरिकाका टेक कम्पनीहरूले सन् २०२२ को अन्त्यसम्म २८ हजारभन्दा बढी रोजगारी कटौती गरिसकेका छन्, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो । कटौतीको प्रकृति हेर्दा हिजोका ‘भीमकाय’ कम्पनीहरू आज संकटमा देखिन्छन् । तर, यो कसरी भयो र अब के हुन्छ ? नजिकबाट नियालौँ :

संकटको बिउ
वर्तमान संकटको बिउ कोभिड– १९ महामारीकोे प्रारम्भिक दिनहरू भए, जतिवेला अधिकांश उपभोक्ता घरमै बस्न र आफ्नो फोन र कम्प्युटरमा काम गर्न बाध्य भए । लगत्तै प्रविधि कम्पनीहरूले विशाल वित्तीय लाभ साक्षात्कार गरे, त्यसपछि उनीहरूमा कामदार भर्नाको एउटा होड नै चल्यो । तर, परिस्थिति सामान्यमा फर्किँदै गर्दा यी कम्पनीको आय घट्न थाल्यो । विज्ञहरू हालको कटौती कम्पनीहरूको अनपेक्षित आम्दानीको नतिजा हो भन्छन् । कम्पनीहरूले मन्दीको बढ्दो खतराका कारण आफ्नो खर्च कटौती गरेका छन् । श्रमिक कटौती श्रमको लागतसँग जोडिएकोतर्फ इंगित गर्र्दैै कोलम्बिया बिजनेस स्कुलका सहप्राध्यापक ड्यान वाङ बिजनेस इनसाइडरसँग भन्छन्, ‘जब कम्पनीहरूले खर्च घटाउँछन् सामान्यतया कटौती हुने पहिलो कुरा कर्मचारी, विज्ञापन र बजारीकरण नै हो ।’

किन यति धेरै रोजगारी गुमेको छ ?
सुस्त अर्थतन्त्र, मुद्रास्फीति र कोभिड महामारीजस्ता समस्याले प्रविधि उद्योगलाई धक्का दिएको छ । मेटा र मेटाभर्सको प्रसंग जोड्दै प्रविधि विश्लेषक पाउलो पेस्काटोर भन्छन््, ‘केही कम्पनीले ठूलो जोखिम मोलेका छन्, उनीहरूलाई आफ्नो योजना सफल बनाउन धेरै वर्ष लाग्नेछ, नाफा कमाउनु त टाढाको कुरा हो ।’ पेस्काटोर थुप्रै ठूला प्रविधि कम्पनीको त्रैमासिक आम्दानीमा गिरावट कर्मचारी कटौतीमा जिम्मेवार ठान्छन् ।

‘हामी मन्दीको अवधिमा गइरहेका छौँ भन्ने ठूलो चिन्ता छ,’ पेस्काटोर भन्छन्, ‘आगामी वर्ष मार्जिन सुधारका लागि कम्पनी लागत कटौती र प्रभावकारितातर्फ केन्द्रित छन् ।’

अमेजनको इतिहासकै ठूलो कटौती
अमेजनले नोभेम्बरको दोस्रो साता १० हजार कर्मचारी हटाउने निर्णय ग¥यो । न्युयोर्क टाइम्सका अनुसार अमेजनले घोषणा गरेअनुसार कार्यबल घटाउने हो भने यो उसको इतिहासमै ठूलो कटौती हुनेछ । अमेजनले एलेक्सा भ्वाइस एसिस्टेन्ट, रिटेल डिभिजन र मानव संसाधनलाई निशाना बनाइएको छ । अमेजनको मुनाफा दुई दशकयताकै न्यून दरमा झरेको छ ।

वाल स्ट्रिट जर्नलका अनुसार अमेजनले एक महिना लामो समीक्षापछि, गैरलाभकारी एकाइहरूका कर्मचारीलाई ‘कम्पनीभित्र अन्य अवसरहरू खोज्न’ आग्रह गरेको थियो । नोभेम्बरको सुरुमा पनि अमेजनले एक सय ५० कामदार कटौती गरेको थियो । कम्पनीले ‘आगामी केही महिना’ नयाँ कर्मचारी नियुक्तिका प्रक्रिया रोकेको अमेजनका वरिष्ठ उपाध्यक्ष मुर्सिडियन्ट बेथ ग्यालेटीलाई उद्धृत गर्दै द विकले जनाएको छ ।

माइक्रोसफ्ट पनि अछुतो रहेन
माइक्रोसफ्टले दुई महिनाअघि विभिन्न डिभिजनबाट एक हजारजति कर्मचारी कटौती गरेको थियो । एबिसी न्युजका अनुसार कम्पनीको विश्वभरका दुई लाख २१ हजार कर्मचारीमा यो कटौती एक प्रतिशत पनि होइन । कटौतीले माइक्रोसफ्टको एक्सबक्स कन्सोल गेमिङ डिभिजनदेखि यसको अत्याधुनिक माइक्रोसफ्ट रणनीतिक मिसन र प्राविधिक संगठनसम्म सबैलाई असर गर्छ । ‘अन्य कम्पनीजस्तै हामी हाम्रो व्यापार प्राथमिकताहरू नियमित रूपमा मूल्यांकन गर्छौँ र तदनुसार संरचनात्मक समायोजनहरू गर्छौँ,’ माइक्रोसफ्टका कार्यकारीहरूले भनेका छन् ।

ट्विटरका आधा कर्मचारीले गुमाए रोजगारी
ट्विटरले नोभेम्बरको पहिलो साता आफ्नो सञ्चार टोली, मानव अधिकार टोली, मेसिन लर्निङ र अल्गोरिदम टोलीको ठूलो हिस्सासहित ५० प्रतिशत कर्मचारी हटायो । भारतका ९० प्रतिशत कर्मचारी कटौतीमा परे । बिबिसीका अनुसार ट्विटरले अफ्रिकामा एक मात्र कार्यालय रहेको घानामा आफ्ना सबै कर्मचारीहरूलाई निकालेको छ ।

मैले गल्ती गरेँ : जुकरबर्ग
कर्मचारी कटौती गर्ने मामिलामा मेटा पनि अछुतोे छैन । मेटाका सिइओ मार्क जुकरबर्गले नोभेम्बरको पहिलो साता कर्मचारीलाई लेखेको पत्रमा कम्पनीले आफ्नो कार्यबलको १३ प्रतिशत कटौती गरेको बताएका छन् । जुकरबर्गले महामारी समाप्त भएपछि पनि द्रुत वृद्धि हुने भन्दै आक्रामक भर्नाको उद्घोष गरेका थिए । ‘दुर्भाग्यवश मैले सोचेजस्तो भएन,’ जुकरबर्गले लेखेका छन्, ‘अनलाइन कमर्स पहिलेकै प्रवृत्तिमा फर्केको मात्र होइन, बृहत् आर्थिक मन्दी, बढ्दो प्रतिस्पर्धा र विज्ञापनमा कमीले राजस्व अपेक्षा गरेभन्दा धेरै कम भएको छ । मैले गल्ती गरेँ र म यसको जिम्मा लिन्छु ।’ सन् २०२२ को गर्मीमा मेटाले इतिहासमै पहिलोपटक त्रैमासिक आयमा गिरावटको साक्षात्कार ग¥यो । मेटाले अक्टोबरको अन्त्यमा कटौतीको घोषणा गरेपछि भने कम्पनीको सेयर मूल्य १८ प्रतिशतले बढेको थियो ।

लो पर्फर्मेन्सका आधारमा कटौती : गुगल
गुगलको मूल कम्पनी अल्फाबेट पनि कर्मचारी कटौती गर्ने ठूलो टेक कम्पनीहरूको सूचीमा सामेल हुने तयारीमा छ । क्यालिफोर्नियामा मुख्यालय रहेको यो टेक जायन्टले करिब १० हजार कर्मचारी कटौती गर्ने योजना नोभेम्बरको तेस्रो साता सार्वजनिक गरेको थियो । बृहत् आर्थिक चुनौती, स्टक मूल्यमा गिरावट र सक्रिय लगानीकर्ताको पत्रबीच अल्फाबेटको कटौती योजना सार्वजनिक भएको थियो । प्रविधिसम्बन्धी समाचार संस्था द इन्फर्मेसनको रिपोर्टअनुसार प्रबन्धकहरूलाई आफ्ना कर्मचारीको ६ प्रतिशत अर्थात् करिब १० हजारलाई लो पर्फर्मेन्सको सूचीमा वर्गीकृत गर्न भनिएको छ । गुगलको कटौतीमा भारत पनि प्रभावित हुन सक्छ । भारतमा गुगलका ६ हजारजति कर्मचारी छन् । यसले सन् २०२३ को सुरुदेखि कटौती सुरु गर्ने अनुमान गरिएको छ ।

१५ वर्षभित्र आधा काममा एआईको कब्जा हुनेछ : एआईविज्ञ काई–फु–ली
आगामी १५ वर्षभित्र हालको कामको आधा काम आर्टिफिसियल इन्टेलिजेन्ट (एआई)ले कब्जा गर्नेछ । रोजगारी जगत् औद्योगिक क्रान्तिको समयमा किसानले सामना गरेजस्तै संकटबाट गुज्रिरहेको छ । एआईले रोजगारीमा पार्ने प्रभावबारे मानिसलाई पूर्ण रूपमा थाहा छैन । मानिसलाई कार्यक्षेत्रमा तपाईं कसरी विस्थापित हुँदै हुनुहुन्छ र उनीहरूलाई कसरी पुनः प्रशिक्षणमार्फत रोजगारीमा फर्काउन सकिन्छ भनेर बुझाउन आवश्यक छ । एआई शक्तिशाली छ, तर यसले मानिसले गर्ने सबै काम गर्न सक्दैन । एआईले जटिल रणनीतिक योजना तय गर्न र अवधारणा बनाउन सक्दैन जसका लागि सटिक रूपमा हात र आँखाको समन्वय आवश्यक पर्छ । यसले मानवबीचको सम्बन्ध र करुणासहित ‘मानिसको जस्तै’ अन्तक्र्रिया गर्न सक्दैन ।

(एजेन्सीहरूको सहयोगमा)

सुझावित समाचार