लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको प्ले अफमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आइतबार भएको खेलमा विराटनगर सुपर किंग्सलाई १२ रनले पराजित गर्दै लुम्बिनी प्ले अफ पुग्ने पहिलो टोली बनेको हो । लुम्बिनी प्रतियोगितामा सात खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । प्रतियोगितामा लुम्बिनी पोखरा एभेन्जर्ससँग मात्रै पराजित भएको छ । विराटनगर ६ खेलबाट चार अंक जोड्दै पाँचौँ स्थानमा छ ।
लुम्बिनीको सामान्य लक्ष्य
पहिलो ब्याटिङ गरेको लुम्बिनीले एक सय २३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय १० रनमा समेटिएको थियो । विराटनगरका अर्जुन साउदले सर्वाधिक ४१ रन जोडे । राष्ट्रिय टोलीका विकेटकिपर तथा ओपनर साउदले ४५ बलमा चार चौका प्रहार गरेका थिए । विवेक यादवले १९ रन, ओपनर गौरांशु शर्माले १२ रन तथा पृथु बास्कोटाले ११ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । कप्तान रोहितकुमार पौडेल र हुसैन टेलरजस्ता खेलाडी सस्तैमा समेटिए । बलिङतर्फ लुम्बिनीका स्याड्ली भान, ह्यारी टेक्टर र तिलक भण्डारीले समान दुई विकेट लिएका थिए । यसैगरी, किशोर महतो, हरमित सिंह र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
दीपेन्द्रको पहिलो अर्धशतक
कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि लुम्बिनीले विराटनगरसमक्ष सम्मानजनक योगफल खडा गरेको हो । दीपेन्द्रले ४२ बलमा ६ चौकाको मद्दतमा अविजित ५० रनको योगदान गरे । प्रतियोगितामा दीपेन्द्रको पहिलो अर्धशतक हो । यसअघि उनले काठमाडौं नाइट्सविरुद्ध सर्वाधिक ४० रन बनाएका थिए । यसैगरी, कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहारो रन बनाउन सकेनन् । विराटनगरका नन्दन यादव, विवेक यादव र सूर्य तामाङले समान दुई विकेट हात पारे ।
काठमाडौंको तेस्रो जित
सुनम गौतम र रायन बलको अर्धशतकप्रेरित काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । ६ अंक जोडेको काठमाडौंले प्ले अफ सम्भावना जीवित राखेको छ । काठमाडौंमाथि जनकपुर र लुम्बिनी छन् । जनकपुरको ६ खेलबाट आठ अंक छ । प्रतियोगितामा बाँकी पाँचै टोलीको प्ले अफ पुग्ने सम्भावना छ । काठमाडौंले प्रस्तुत गरेको एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रनमै समेटियो । काठमाडौंका बलर अविनाश बोहरा चम्किएपछि जनकपुर सस्तैमा रोकिएको हो । जनकपुरका सराफुद्दिन असराफलले सर्वाधिक ३६ रन बनाए ।
यसैगरी, सोमपाल कामीले २१ रन तथा खडक बोहराले १० रन जोडे । आठौँ विकेटका लागि सराफुद्दिन र सोमपालले ५४ रनको साझेदारी गरेका थिए । ओपनर ट्रेभन ग्रिफिथ र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका चाडविक वाल्टन शून्यमा पेभिलियन फर्किए । सन्दीप जोरा, पवन सर्राफ र समिउल्लाह सिन्वारी सस्तैमा आउट भए । काठमाडौंका अविनाशले ३.१ ओभरमा १३ रन खर्चिएर चार विकेट लिन सफल भएका थिए । अज्मतुल्लाह ओमार्जाईले दुई विकेट लिए । अनिल खरेल र वसिर अहमदले समान एक विकेट लिएका थिए ।
सुनम र रायनको अर्धशतक
काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८० रनको बलियो योगफल तयार पारेको थियो । प्लेयर अफ दी म्याच काठमाडौंका सुनमले ४७ बलमा चार चौका र चार छक्काको मद्दतमा सर्वाधिक ६२ रनको योगदान गरे । रायनले ४० बलमा चार चौका र तीन छक्कासहित अविजित ६१ रन बनाए । चौथो विकेटका लागि सुनम र एलेक्सले ८४ रनको बलियो साझेदारी गरेका थिए । यसैगरी, एलेक्स ब्लेकले २० तथा अज्मतुल्लाहले १० रन जोडे । बलिङतर्फ जनकपुरका जितेन्द्र मुखियाले तीन विकेट लिएका थिए । यद्यपि, उनले चार ओभरमा ३८ रन खर्चिएका थिए ।