रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित खैरेनीपुलनजिकै सुनकोशी नदीबाट बिहीबार मध्यरातको समयमा नदीजन्य सामाग्री चोरी निकासी गर्ने गिरोहलाई पालिका अध्यक्षले कोशी किनारबाटै रंगेहात पक्राउ गरेका छन् ।
मध्यरातको समय पारेर अवैद्य रूपमा सुनकोसी नदी किनारबाट बालुवा र ढुंगा निकासी गर्दै गरेको अवस्थामा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठसहितको टोलीले दुईवटा स्काइभेटर र तीनवटा टिपर नियन्त्रणमा लिएको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय चोप्राङ्गलाई बुझाएको छ ।
रातिको समय पारेर तस्करहरूले अवैद्य रूपमा ढुंगा, गिट्टी र बालुवा चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा पालिकाअध्यक्षसहितको टोली अनुगमनमा निस्किएको हो ।
नदीजन्य पदार्थ रातारात चोरी निकासी हुँदै आएको छ भन्ने सूचना पाएपछि राति कोशीकिनारमा पुग्दा चोरी निकासी भइरहेको फेला पारेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘सूचनाको आधारमा पालिकाका केही कर्मचारी र प्रहरीसहित राती कोशी किनारमा पुगेका थियौं । हामी पुगेपछि टिपर र स्काइभेटरका चालक र सहचालक फरार भए । स्काइभेटर र टिपर नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रहरीको जिम्मा लगाइएकोे छ ।’
सुनकोशी नदी पारीपट्टी सिन्धुली जिल्लातर्फ बिपी राजमार्ग रहेको छ । वारीपट्टी रामेछापतर्फ मध्यपहाडी राजमार्ग निमार्णाधीन अवस्थामा छ । रातिको समयमा तस्करहरूले कोशी तटीय क्षेत्रमा बसोबास गर्दै आएका बस्तीहरू नै असुरक्षित हुने गरी अवैद्य रूपमा बालुवा उत्खनन् गर्ने गरेकाले एकातिर बस्ती जोखिममा परेको छ भने अर्कोतिर, मध्यपहाडी राजमार्गको सडकसमेत पहिरोको जोखिममा छ ।
नदीजन्य सामाग्रीको उत्खनन् गर्न गाउँपालिकाले इआइए गरेको स्थानमा मात्रै गर्नुपर्ने, उत्खनन् गर्दा ठूला जेसिभी प्रयोग गर्न नपाइने र ठूला–ठूला खाडल बनाएर उत्खनन् गर्न नपाइने, बस्ती क्षेत्रमा उत्खनन् गर्न नपाइनेलगाएतका नियम पालिकाले निर्धारण गरेको छ ।
नदीजन्य पदार्थ उत्खननको लागि खाँडादेवी गाउँपालिकाले कानूनी प्रक्रिया पुर्याएर टेन्डर प्रक्रियाद्वारा टेन्डर लगाएको छ । यसरी पालिकाले टेन्डर लगाएको भए पनि टेन्डर लिने व्यक्तिलाई नदीजन्य पदार्थको कच्चा पदार्थ उत्खनन् गर्नै नदिई अन्य व्यक्तिले चोरी निकासी गरेपछि पालिकाले अनुगमनमा कडाइ गरेको गाउँपालिकाले जनाएको छ ।
रातको समयमा अवैद्य रूपमा चोरी निकासी गर्ने गिरोहलाई हदैसम्मको कारबाही हुने रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए । उनले भने, ‘कानुनविपरीत कार्य गर्ने जो सुकै भए पनि कानुनी दायरामा ल्याएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छु ।’
