पछिल्लो घटनाक्रममा तपाईंहरू नेतृत्वलाई मात्र किन दोषी देखिरहनुभएको छ ?
कांग्रेस नेतृत्वप्रति स्वाभाविक रूपमा यो प्रश्न पार्टीका विभिन्न तह र तप्कामा उठिरहेको छ । कार्यकर्ताको वास सडकमा हुँदा पनि नेतृत्वको चेत फिरेन । निरन्तरको खबरदारीबाट पनि शेरबहादुर देउवाजीको निरंकुश चरित्रमा परिवर्तन आएन । गठबन्धनका नाममा कांग्रेसले संघ र प्रदेशमा कम उम्मेदवारीमा दिनुपर्ने नियति भोग्यो ।
३५ लाख नयाँ मतदाता थपिएको समयमा पनि कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा सात लाख मत गुमायो । निर्वाचनपछि हातमा आइसकेको जिम्मेवारी गुम्नु कांग्रेसका लागि थप दुर्घटना हो । कांग्रेसको छवि र जनाधारमै घात हुने काममा सभापतिको प्रत्यक्ष हात रहेको देख्दादेख्दै अर्को कसलाई दोषी देख्नु त ?
कमजोरी भइसकेपछि अब इतर समूहले कसरी ‘कोर्स करेक्सन’को भूमिका खेल्छ त ?
सभापतिजीलाई भुलचुकवश यसो भएको हो भनेर क्षमा दिने ठाउँ अब रहेन । उहाँकै कारण पार्टीको लोकतान्त्रिक निष्ठा र चरित्र गुमेको पीडा आज आमकांग्रेसजनले भोग्नुपरिरहेको छ । अब कांग्रेसजनले सभापतिका नाममा उहाँलाई सहज रूपमा स्विकार्नुपर्ने बाध्यता छैन । काँग्रेस जोगाउन अब उहाँविरुद्ध लड्नुपर्ने दुर्भाग्यपूर्ण दिन आएको छ । हामी यसलाई केन्द्रीय समितिमा उठाउँछौँ । पार्टीमा दबाब बढाउन लागिपर्छौं ।
तपाईंंहरूका नजरमा नेतृत्वका विकल्प के के छन् त ?
सभापतिज्यूले या त सभापति पदबाट राजीनामा दिएर इज्जतपूर्वक आफैँ हट्नुपर्छ । नत्र, विशेष महाधिवेशन बोलाएर उहाँलाई पदमुक्त गर्नु जरुरी छ ।