नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सको खराब प्रदर्शन जारी छ । प्रतियोगितामा एक जित पनि हात नपारेको फ्रेन्चाइज टोली पोखरा नै हो । पोखराले बिहीबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आफ्नो पाँचौँ खेल खेल्यो ।
पोखराले विराटनगर सुपर किंग्सको सामना गरेको थियो । तर, पोखराले पाँचौँ खेलमा आफूअनुकूल नतिजा निकाल्न नसक्दा हारको सामना गर्यो । लगातार पाँच खेलमा अंकविहीन भएको पोखराको प्ले अफ खेल्ने आशा गणितीय आधारमा मात्र सीमित छ । लिगको ११औँ खेलमा विराटनगरले पोखरामाथि आठ विकेटको सानदार जित निकाल्यो । विराटनगर चार अंकका साथ चौथो स्थानमा उक्लेको छ । पोखरा पुछारमा छ ।
६० रनको अविजित साझेदारी
पोखराले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा विराटनगरले १८.४ ओभरमा दुई विकेटको नोक्सानीमा एक सय ३८ रन बनायो । विराटनगरको जितमा नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र हुसेन टलाटले तेस्रो विकेटका लागि नटआउट ६० रनको साझेदारी गरे ।
विराटनगरको सुरुवात खराब रह्यो । ओपनर अर्जुन साउद इनिङ्सको पहिलो बलमै क्याचआउट भए । त्यसपछि गौरांशु शर्मा र रोहितबीच दोस्रो विकेटका लागि ७८ रनको साझेदारी भयो । इनिङ्सको ११.३ ओभरमा शर्माले आफ्नो विकेट जाहिर खानलाई दिए । शर्माले ३२ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३३ रनको योगदान दिए । रोहित र टलाटले टोलीलाई जिततर्फ पुर्याए । रोहितले ५७ बलमा ६ चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ७१ रनको योगदान दिए । टलाटले २३ बलमा तीन चौका प्रहार गरी २८ रन बनाए ।
म्याककार्थीको कसिलो बलिङ
पहिलो ब्याटिङ गरेको पोखराविरुद्ध विराटनगरका एन्ड्रे म्याककार्थीले कसिलो बलिङ गरे । उनले चार ओभरमा २२ रन खर्चेर सर्वाधिक तीन विकेट हात पार्दा पोखराको ब्याटिङ गतिलो भएन । म्याककार्थीले ओपनर सुमित महर्जनलाई कट एन्ड बोल्ड गरे । सुमितले २५ बलमा दुई चौका र एक छक्का हिर्काएर २६ रन जोडे । म्याककार्थीले सिद्धान्त लोहनी (९) र कुशल मल्ल (१) को महत्वपूर्ण विकेट लिए । पोखराको ब्याटिङमा श्रीलंकाली खेलाडी उपल थरंगाले २४ बलमा २५ रन बनाए । अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिए ।
जनकपुर दोस्रो स्थानमा उक्लियो
लगातार दोस्रो खेलमा जित निकाली जनकपुर रोयल्स दोस्रो स्थानमा उक्लेको छ । जनकपुरले लिगको १२औँ खेलमा फार वेस्ट युनाइटेडमाथि आठ विकेटको जित निकालेको हो । पहिलो ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६९ रनको बलियो योगफल खडा गर्यो । प्रत्युत्तरमा जनकपुरले १८.२ ओभरमा दुई विकेटको नोक्सानीमा एक सय ७१ रन बनायो । जितसँगै जनकपुरले चार खेलबाट ६ अंक जोडेको छ । फार वेस्टले चार खेलमा दुई अंक मात्र बनाएको छ । फार वेस्ट पाँचौँ स्थानमा छ ।
एक सय ५१ रनको साझेदारी
लक्ष्य पछ्याएको इनिङ्समा जनकपुरका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय योगदान दिएका थिए । चडविक वाल्टन र सन्दीप जोराले तेस्रो विकेटका लागि उत्कृष्ट एक सय ५१ रनको साझेदारी गर्दै टोलीलाई सानदार जित दिलाए । वाल्टन र सन्दीपले क्रिज सम्हाल्दा जनकपुर २.६ ओभरमा २०–२ को कमजोर स्थितिमा थियो । जनकपुरका पवन सराफ १२ र ट्रेभोन ग्रिफिथ ६ रनमा आउट भएका थिए । जनकपुरका दुवै विकेट करण केसीले लिएका थिए ।
वाल्टन र सन्दीपले आफ्नो नटआउट इनिङ्समा कुनै गल्ती गरेनन् । दुवैले फार वेस्टको कमजोर बलिङ आक्रमणको फाइदा उठाए । वाल्टनले ४० बलमा दुई चौका र पाँच छक्का प्रहार गरी ६९ रन बटुले । सन्दीपले ५४ बलमा ७७ रन जोड्न पाँच छक्का र तीन चौका ठोके । यस खेलमा सन्दीप म्यान अफ दी म्याच भए ।
करणको उत्कृष्ट ब्याटिङ
फार वेस्ट युनाइटेडका लागि करण केसीले अलराउन्डर भूमिकाको निर्वाह गरेका थिए । बलिङमा दुई विकेट लिएका करणले ब्याटिङमा विस्फोटक प्रदर्शन गरे । उनले केवल १७ बलमा तीन चौका र चार छक्काको सहयोगमा नटआउट ४६ रन बनाए । करण क्रिजमा आउँदा फार वेस्ट १५.४ ओभरमा १११–६ को स्थितिमा थियो । त्यसपछि करणले चौका र छक्काको वर्षा गर्दैै टोलीलाई बलियो स्थितिमा पुर्याए । फार वेस्टको ब्याटिङमा भीम सार्कीले ३० बलमा ३६ रन बनाए । ओपनर देव खनालले २६ बलमा २२ रन तथा कप्तान साहिदीले १९ बलमा १९ रन बटुले । बलिङमा ललितनारायण राजवंशीले दुई विकेट लिन २५ रन खर्चे ।