प्रदेश सभा भवन अपांगमैत्री नहुँदा अपांगता भएकी सांसदलाई सास्ती

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

बागमती प्रदेश सभाको भवन पूर्ण–अपांगमैत्री नहुँदा स्पाइनल कर्ड इन्जुरी भएकी सांसद लक्ष्मी घिमिरेले प्रदेश सभामा पहिलो दिन नै समस्या भोग्नुपरेको छ । 

बिहीबार प्रदेश सभा सदस्यहरूको शपथ कार्यक्रममा हुन घिमिरे ह्विलचियरमा आएकी थिइन् । तर, सभा भवन पूर्ण–अपांगमैत्री नहुँदा शपथ कार्यक्रममा सहभागी हुन उनलाई निकै कष्ट पर्यो । 

उनले शपथग्रहण कार्यक्रम सोचेजस्तो सजिलो नभएको गुनासो गरिन् । ‘अपांगता भएकाहरूका लागि विशेष व्यवस्था होला भन्ने लागेको थियो । तर, त्यस्तो केही रहेनछ । शपथ ग्हणको लागि आउँदा कष्ट भयो,’ सांसद बनेकी घिमिरेले पहिलो दिन नै भोग्नुपरेको तीतो अनुभव सुनाइन् । रामेछाप घर भएकी घिमिरेलाई राप्रपाले समानुपातिकतर्फबाट सांसद बनाएको हो । 

उनले केही दिनअघि राष्ट्रिय अपांग महासंघले अपांगमैत्री संरचना हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै त्यसको खासै सुनुवाइ नभएको बताइन् । प्रदेश सभा भवनबाहिर भएको भिडभाडका कारण सांसद घिमिरेलाई शपथग्रहणको लागि सभा हलभित्र प्रवेश गर्न निकै सास्ती व्यहोर्नुपरेको थियो । 

प्रदेश सभाका सचिव कृष्णहरि खड्काले भने अपांगता भएका व्यक्ति प्रदेश सभा सदस्यमा निर्वाचित भएको जानकारी पाएसँगै प्रदेश सभा हललाई अपांगमैत्री बनाउने प्रयास गरेको बताए । उनले प्रदेश सभा हलसँगै चमेना गृह पनि अपांगमैत्री बनाएको दाबी गरे । उनले संसदीय दलको कार्यालय पनि अपांगमैत्री बनाउने तयारी भइरहेको जानकारी दिए । 

सचिव खड्काले नयाँ बन्दै गरेको प्रदेश सभा भवन भने पूर्ण अपांगमैत्री हुने दाबी गरे । उनले अपांगता भएका प्रदेश सदस्यलाई निश्चित स्थान र क्रम तोकेर एकजना व्यक्तिलाई सहयोगीका रूपमा बस्ने व्यवस्था गर्ने तयारी भइरहेको पनि बताए । 

सुझावित समाचार