अनावश्यक प्रयोगले एन्टिबायोटिकको प्रभावकारिता घट्दै

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

६० देखि ७० प्रतिशत एन्टिबायोटिक प्रभावहीन, ३५ वर्षयता नयाँ औषधि बन्न सकेन

एन्टिबायोटिकको गलत प्रयोगका कारण उपलब्ध एन्टिबायोटिकको प्रभावकारिता घट्दै गएको छ । ब्याक्टेरिया र फन्जाई संक्रमणको उपचारका लागि बनाइएका औषधिलाई पराजित गर्दे जीवाणुहरूले बलियो प्रतिरोधी क्षमता विकास गर्ने क्रम बढेसँगै एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् एन्टिबायोटिक प्रभावहीन बन्दै गएको अध्ययनले देखाएका छन् ।

हालसम्म विश्वभर एक सय ३७ वटा एन्टिबायोटिक औषधि संक्रमणको उपचारमा प्रयोग भइरहेका छन् । झन्डै ६० देखि ७० प्रतिशत औषधिमा एएमआर अर्थात् एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्स देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । बढ्दो एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्सका कारण उपलब्ध एन्टिबायोटिकले उपचारमा मल्टिड्रग थेरापी प्रयोग हुन थालेको छ । चिकित्सकहरूका अनुसार एउटै औषधिले रोगविरुद्ध काम गर्न छोडेपछि तीनदेखि चारवटासम्म औषधि मिश्रण गरेर प्रयोगमा ल्याउन थालिएको हो । 

विश्व स्वास्थ्य संगठनले साइलेन्ट प्यान्डेमिकको सूचीमा रहेको एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्स ठूला १० वटा रोगमध्ये राखेको छ । डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार विश्वभर एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्सका कारण बर्सेनि १.२७ मिलियनको मृत्यु भइरहेको छ । 

एन्टिबायोटिकको गलत प्रयोगका कारण नेपालजस्ता विकासोन्मुख देशहरूमा बढी जोखिम निम्त्याइरहेको चिकित्सकहरू बताउँछन् । संक्रमणविद् डा. सन्तोष दुलालका अनुसार अनावश्यक औषधि प्रयोग हुँदा रेसिस्टेन्सको जोखिम बढेको हो । उनी भन्छन्, ‘विभिन्न अध्ययन हेर्दा नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक अर्थात् स्वास्थ्य समस्या नभएकामा प्रयोग भइरहेको छ । जस्तै, सामान्य रुघाखोकी लाग्दा एन्टिबायोटिक आवश्यक हुँदैन, तर स्वास्थ्य परीक्षणविना अधिकतम औषधि प्रयोग गरिन्छ । साथै, औषधिको पूरा डोजसमेत नलिँदा यसले ब्याक्टेरियालाई थप बलियो बनाउन मजबुत गर्छ र एन्टिबायोटिक प्रभावहीन बन्न पुग्छ ।’

बढी संक्रमण गराउने १० वटा ब्याक्टेरियामा परीक्षण 
नेपालमा एन्टिबायोटिकको प्रभावकारिता बढ्दै गएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सर्वेक्षणले देखाएको छ । ग्लोबल एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स रणनीतिअनुसार हाल देशभरबाट संकलन गरेर १० वटा फरक अर्गानिज्म अर्थात् बढी संक्रमण गराउने ब्याक्टेरियाको स्थितिबारे गरिने परीक्षणले एन्टिबायोटिक रेसिस्टेन्स बढ्दै गएको देखाएको हो । राष्ट्रिय प्रयोगशालाका निर्दैशक डा. रुना झाका अनुसार हाल देशभर रहेका २३ वटा एन्टिमाइक्रोबियल सर्भिलेन्स साइटबाट संकलित डाटाका आधारमा विभिन्न १० वटा अर्गानिज्ममा परीक्षण भइरहेको हो । 

‘ग्लोबल एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स रणनीतिअनुसार नेपालका पनि नियमित सर्भिलेन्स भइरहेको हो । परीक्षणमा रहेका अधिंकाशमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स देखिने गरेको छ । पछिल्लो सर्वेक्षणले निमोनिया, म्यानेन्जाइटिस, घाउ र सर्जरीका घाउहरूमा हुने संक्रमण, ब्लडस्ट्रम संक्रमणजस्ता संक्रमण निम्त्याउने ‘क्लेबसियाला’ ब्याक्टेरियाको एन्टिबायोटिक र रगत, पिसाब, फोक्सो र घाउहरूमा इन्फेक्सन गराउने एसिनिटोब्याक्टर नामक ब्याक्टेरियाको एन्टिबायोटिकमा रेसिस्टेन्स देखिएको छ,’ उनले भने । 

नेपालमा एन्टिबायोटिकमा रेसिस्टेन्स अत्यधिक देखिएकाले एउटै रोगको उपचारका लागि चारवटासम्म एन्टिबायोटिक प्रयोग हुन थालेको छ । डा. झाका अनुसार मापदण्डअनुसार क्षयरोगमा मात्रै चारवटा एन्टिबायोटिक प्रयोग गर्न मिल्ने भए पनि चिकित्सकहरूले रोगको प्रकृति हेरेर अन्य संक्रमणमा समेत एउटै समयमा दुईवटासम्म एन्टिबायोटिक प्रयोग गरीरहेका छन् । 

३५ वर्षयता बनेको छैन नयाँ औषधि
समयअनुसार स्वरूप परिवर्तन गरिरहेका कारण ब्याक्टेरियाविरुद्धका औषधिहरू उत्पादन चुनौतीपूर्ण बन्दै गएको छ । क्लिनिकल ट्रायलका लागि वर्षौँ समय लाग्ने एन्टिबायोटिक औषधि ३५ वर्षयता नयाँ उत्पादन हुन सकेको छैन । सन् १९८७ मा ‘ड्याप्टोमाइसिन’ एन्टिबायोटिक अन्तिमपटक बनेको थियो । संक्रमणविद् डा. दुलालका अनुसार लिपोसेप्टाइट ब्याक्टेरियाअन्तर्गत पर्ने यो औषधिपश्चात् कुनै नयाँ औषधिले प्रयोगका लागि अनुमति पाएका छैनन् । उनी भन्छन्, ‘एकातिर ब्याक्टेरियामा निरन्तर जेनेटिक परिवर्तन भइरहँदा उपलब्ध एन्टिबायोटिकको प्रभावकारिता घटिरहेको छ भने अर्कोतिर वर्षौँसम्म नयाँ एन्टिबायोटिक उत्पादन भइरहेका छैनन् । जसले गर्दा औषधि, खाद्यवस्तु, वातावरणमा एन्टिमाइक्रोबियल अत्यधिक मात्रामा रहेका नेपालजस्ता देशहरूमा एन्टिबायोटिक रेसिस्टेन्स चुनौतीपूर्ण बन्दै गएको छ ।’ 

बेलायत सरकारको सहकार्यमा गरिएको एक अध्ययनले एन्टिबायोटिक औषधि प्रयोगमा सीमितता नल्याउने हो भने सन् २०५० सम्ममा प्रत्येक वर्ष कम्तीमा १० मिलियन व्यक्तिको मृत्यु एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण हुने अनुमान गरिएको छ । तर, सन् २०२० मै एन्टिमाइक्रोबियलबाट बर्सेनि झन्डै ४९ लाख ५० हजार व्यक्तिको मृत्यु भइरहेको अनुमान गरिएकाले सन् २०३० मै यो संख्या १० बिलियनमा पुग्ने बताइएको छ । 

एन्टिमाइक्रोबियल रेसिस्टेन्सले आधुनिक औषधिलाई कमजोर बनाउँदै लगेकाले लाखौँ जीवनलाई जोखिममा पारिरहेको डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् । डा. गेब्रेयसले भनेका छन्, ‘विश्वव्यापी खतराको हदलाई समयमै बुझेर माइक्रोबायोलोजी परीक्षण मापनमा जोड दिन नसकेमा भविष्यमा एएमआर अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सबैभन्दा ठूलो स्वास्थ्य चुनौती बन्ने निश्चित छ ।’

रि–कल्डमा पहिलो एन्टिबायोटिक 
औषधि व्यवस्था विभागले बजारमा औषधि परीक्षणपश्चात् प्रभावहीन देखिएका फिर्ता ल्याउने औषधिमध्ये एन्टिबायोटिक पहिलो नम्बरमा छ । अर्थात् बजारमा गुणस्तरहीन देखिने औषधिमध्ये एन्टिबायोटिक अत्यधिक हुने गरेको हो । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार बजारबाट रेसिस्टेन्स देखिएपछि अत्यधिक एन्टिबायोटिक बजारबाट फिर्ता पठाउने गरिएको हो । 

औषधि व्यवस्था विभागले गुणस्तर मापनका आधारमा औषधि फिर्ता पठाउँदै आए पनि अधिकांश पर्याप्त सर्वेक्षण नहुँदा औषधिको अनावश्यक प्रयोग हुँदै आएको चिकित्सकहरू बताउँछन् । डा. दुलाल भन्छन्, ‘प्रेस्क्रिप्सनविना जथाभावी औषधि सेवन गर्दा वा औषधिको पूर्ण डोज प्रयोगमा नल्याउँदा एन्टिबायोटिकले ब्याक्टेरिया मार्नुको सट्टा ब्याक्टेरियाको प्रतिरोधी क्षमता बढाउँछ । जसले गर्दा प्रयोग हुँदै आएका एन्टिबायोटिकको प्रभाव घट्दै जान्छ ।’ एन्टिमाइक्रोबियल रेसिस्टेन्स कम गर्न परीक्षण बढाउनुपर्ने उनी बताउँछन् । 

तर, नेपालले सन् २०१५ विश्व स्वास्थ्य संगठनले ग्लोबल एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्टसँगै ल्याएको नेसनल एक्सन प्लान अन एन्टिबाइक्रोबियल रेसिस्टेन्ट रणनीति हालसम्म लागू हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको गुणस्तर महाशाखा प्रमुख डा. मदन उपाध्याय एएमआर नेसनल एक्सन प्लान लागू हुने प्रक्रियामा रहेको बताउँछन् । उनी भन्छन्, ‘नेसनल एक्सन प्लान कस्टिङ वस्ट्रा–डिस्नरी प्लान भएकाले रायका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयको स्वीकृतिसँगै प्रक्रियामा रहेको पाँच वर्षीय रणनीति पास हुन्छ । रणनीति पास भएसँगै स्थानीय तहसम्म अस्पताल तथा ल्याबहरूमा एएमआर सर्वेक्षण गर्न सकिने मापदण्ड ल्याउने तयारी भइरहेको हो ।’ एएमआरको विषयमा जनचेतना बढाउने, तालिम सञ्चालनमा ल्याउने र केही अस्पतालमा सर्भिलेन्सका लागि विज्ञहरूको समितिले समेत काम गर्दै आएको र त्यही आधारमा देशभर सर्भिलेन्स सेवा विस्तार गरिने डा. उपाध्याय बताउँछन् ।

एन्टिबायोटिकमा ब्याक्टेरियाको रेसिस्टेन्स देखिएको छ : डा. रुना झा, निर्देशक, राष्ट्रिय प्रयोगशाला
ग्लोबल एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स रणनीतिअनुसार नेपालमा पनि नियमित सर्भिलेन्स भइरहेको छ । परीक्षणमा रहेका अधिकाँशमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स देखिने गरेको छ ।

पछिल्लो सर्वेक्षणले निमोनिया, म्यानेन्जाइटिस, घाउ र सर्जरीका घाउहरूमा हुने संक्रमण, ब्लडस्ट्रम संक्रमणजस्ता संक्रमण निम्त्याउने ‘क्लेबसियाला’ ब्याक्टेरियाको एन्टिबायोटिक र रगत, पिसाब, फोक्सो र घाउहरूमा इन्फेक्सन गराउने एसिनिटोब्याक्टर नामक ब्याक्टेरियाको एन्टिबायोटिकमा रेसिस्टेन्स देखिएको छ ।

रेसिस्टेन्सको जोखिम बढ्दो छ : डा. सन्तोष दुलाल, संक्रमणविद्
विभिन्न अध्ययन हेर्दा नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक देखिन्छ । स्वास्थ्य समस्या नभएकामा पनि प्रयोग भइरहेको छ ।

जस्तै, सामान्य रुघाखोकी लाग्दा एन्टिबायोटिक आवश्यक हुँदैन, तर स्वास्थ्य परीक्षणविना अधिकतम औषधि प्रयोग गरिन्छ ।

साथै, औषधिको पूरा डोजसमेत नलिँदा यसले ब्याक्टेरियालाई थप बलियो बनाउन मजबुत गर्छ र एन्टिबायोटिक प्रभावहीन बन्न पुग्छ ।

सुझावित समाचार