राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनी फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो।
यस जितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चौथो जित दर्ता गराएको छ। चार खेल खेलको लुम्बिनीले आठ अंक जोड्दै अंक–तालिकाको शीर्ष स्थान छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३७ रन बनायो। एक सय ३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ रन बनाएको थियो। लुम्बिनीका लहिरू मिलन्थाले १५ र साड्ले भान स्कल्कवेकले तीन रन बनाए। लुम्बिनीले एक रन भने अतिरिक्त पाएको थियो।
२० रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको फार वेस्ट १० रनमा समेटियो। फार वेस्टका हस्मतुल्लाह साहिदीले आठ रन बनाउँदा विनोद भण्डारीले दुई रन बनाए।
त्यसअघि २० ओभरको खेलमा लुम्बिनीका गुल्सन झाले सर्वाधिक अविजित ३६ रन बनाएका थिए। उनले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे। त्यसैगरी लहिरू मिलन्थाले ३४ तथा विपुल शर्माले ३१ रन जोडे।
फार वेस्टका करण केसी र शेर मल्लले समान दुई विकेट लिए भने राशिद खान, उमैर अली हस्मतुल्लाह साहिदी र भुवन कार्कीले समान एक-एक विकेट लिए।
यता फार वेस्टका लागि भने देव खनालले सर्वाधिक ४८ रन बनाएका थिए। उनले ४२ बलमा पाँच चौकासहित ४८ रन बनाएका हुन्। कप्तान हस्मतुल्लाह साहिदीले ३२, भीम सार्कीले १५, करण केसीले १२ तथा हसिम अन्सारी र विनोद भण्डारीले समान ११–११ रन जोडेका थिए।
लुम्बिनीका साड्ले भान स्कल्कवेकले दुई विकेट लिए भने हर्मित सिंह, किशोर महताे र सागर ढकालले समान एक–एक विकेट हात पारे। यससँगै तीन खेलबाट दुई अंक जोडेको फार वेस्ट तालिकाको चौथो स्थानमा छ।
प्रतियोगिताको विजेताले रु. ५५ लाख तथा उपविजेताले रु. ३० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, तेस्रो हुनले रु. १० लाख तथा चौथोले रु. पाँच लाख पाउनेछन्। प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता छ।