जाडोमा यसरी गर्नुस् इन्डोर प्लान्ट्सको स्याहार

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

गार्डेनिङ

दीपेन्द्र तुलाधर सञ्चालक, गमला घर 

आजभोलि सहरी क्षेत्रमा इन्डोर प्लान्ट्स रोप्ने चलन छ । ठूलो क्षेत्रफल नचाहिने र कोठामै स्वच्छ हावा मिल्ने भएकाले पनि मानिसहरू यसतर्फ आकर्षित हुँदै गएका हुन् । यसले कोठाको शोभा पनि बढाउँछ । तर, इन्डोर प्लान्ट्स कतिपय अवस्थामा लामो समयसम्म टिक्दैन । त्यही कारण मानिसहरू वाक्कदिक्क भइरहेका हुन्छन् । विशेषगरी, यस मौसममा इन्डोर प्लान्ट्सको वृद्धिदर निकै सुस्त हुन्छ र कतिपय निष्क्रिय हुन्छन् ।

घरमा बिरुवा रोपेर मात्रै हुँदैन, बिरुवालाई हुर्कन उपयुक्त वातावरण पनि चाहिन्छ । यसलाई हावा, पानी, घामको तारतम्य मिलाउनुपर्छ । घरबाहिर रोपिने बिरुवालाई जस्तो दैनिक पानी हाल्नुपर्दैन । कतिपय इन्डिोर प्लान्ट्सलाई चार–पाँच दिनमा पानी हाले पुग्छ । त्यसैले बिरुवाको हेरचाह र कुन स्थानमा राख्दा उपयुक्त हुन्छ भन्नेबारे बुझेर त्यहीअनुसार यसको हेरचाहका लागि रुटिन बनाउनुपर्छ ।

पर्याप्त प्रकाश
जाडोमा दिन निकै छोटो हुन्छ । त्यसैले तपाईंले घरका इन्डोर प्लान्ट्सलाई प्रकाश प्राप्त हुने ठाउँमा राख्नुपर्छ । तर, कुन बिरुवालाई कति प्रकाश आवश्यक पर्छ भन्ने जानकारी तपाईंसँग हुनुपर्छ । किनकि, कतिपय बिरुवालाई अधिक समय सीधा प्रकाशमा राख्दा नोक्सानी पनि पुग्छ । 

स्थिर तापक्रम
अधिकांश इन्डोर प्लान्ट्सले तापमानमा हुने उतारचढाव सहन सक्दैनन् । जाडोमा एकातर्फ हिटरले कोठा तताइरहेको हुन्छ, अर्कोतर्फ झ्यालबाट आउने हावाले चिसो बनाइरहेको हुन्छ । यस्तो अस्थिर तापक्रमले बिरुवालाई हानि गर्न सक्छ । त्यही कारण चिसोमा बिरुवालाई स्थिर तापक्रम हुने कोठामा लगेर राख्नुपर्छ । 

सफा राख्नुस् 
बिरुवालाई नियमित रूपमा सफा गर्नुपर्छ । विशेषगरी, जाडोका दौरान यो जरुरी छ । पातमा धुलो जम्दा त्यसका छिद्रहरू बन्द हुन सक्छन् । र, यही कारण बिरुवामा कीटाणु आउन सक्छ । त्यस्तै, क्षतिग्रस्त र रोगग्रस्त पातलाई हटाउनुपर्छ । 

सुझावित समाचार