शल्यक्रिया गरी भैँसीको सुत्केरी

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

नुवाकोटको बेलकोटगढी नगरपालिका– १ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ ।

नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुरले जानकारी दिए । उनको नेतृत्वमा रहेको प्राविधिक टोलीले बेथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैँसीको सोही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो ।

‘सुत्केरी हुन समय पुगेको उक्त भैँसी बेथा लागेको एक सातासम्म पनि ब्याउन नसकेपछि एक मात्र अन्तिम विकल्पको रूपमा रहेको शल्यक्रियामार्फत पेट चिरेर पाडो निकालियो,’ पशु सेवाविज्ञ केन्द्रका डा. ठाकुरलले भने, ‘पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात् माउको स्वास्थ्य राम्रो छ । घाँसपानी खान थालेको छ ।’

केन्द्र प्रमुख भरत पाण्डेले जिल्लामा पशुचौपाया ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भए पनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक र सफलसमेत भएकाले उत्साह जगाएको बताए । यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाया गुमाउनुपरेको थियो । अब किसानका लागि पशुधनको सुरक्षा र कार्यालयका लागि सेवा प्रवाहमार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको उनको भनाइ छ ।

गत भदौदेखि नुवाकोटमा कार्यरत पशु चिकित्सक डा. बबलु ठाकुरको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको शल्यक्रियाको सफलताले नुवाकोट र रसुवाका किसानका लागि पशुधनको सुरक्षा र पशुपालनप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने देखिन्छ ।

See More On

सुझावित समाचार