करको दायरामा आउन ठूला करदातालाई महानगरको पत्र

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले ठूला करदातालाई करको दायरामा आउन आग्रह गरेको छ । यसका लागि आगामी आइतबारदेखि उनीहरूलाई करको दायरामा ल्याउन पत्र काट्ने महानगरले जनाएको छ ।

‘ठूला करदातालाई करको दायरामा ल्याउन पत्राचार गर्न हामीले वडाहरूमा भनिसकेका छौँ,’ महानगरअन्तर्गत राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने, ‘वडाहरूबाट कस्तो प्रतिक्रिया आउँछ । त्यसलाई हेरेर अर्को साताबाट पत्र काट्न थाल्छौँ ।’ उनका अनुसार विभाग होर्डिङ बोर्ड हटाउने कामतर्फ लागेकाले ठूला करदातालाई करको दायरामा ल्याउन ढिला भएको हो ।

कर बुझाउन पटक–पटक ताकेता गर्दा पनि नआएका करदाता र कम्तीमा दुई आर्थिक वर्षभन्दा बढी अवधिको सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाउन बाँकी रहेका करदाताको विवरण उतारी कर बुझाउन आउने व्यहोराको पत्राचार गर्न ४ पुसमै महानगरले वडाहरूलाई अनुरोध गरेको थियो । करको दायरामा नआए, तोकेको अवधिमा कर नतिरे राजस्व ऐन, ०७५ बमोजिम कारबाही गरी बाँकी कर र रकम असुल गर्ने महानगरले जनाएको छ ।

कर तिर्न संस्थानको आनाकानी
महानगरले ठूला करदातालाई करको दायरामा ल्याउन खोजे पनि सरकारी संस्थानहरूले भने आनाकानी गरिरहेका छन् । महानगरका अनुसार अर्धसरकारी संस्थाहरू कृषि सामाजिक संस्थान, विद्युत् प्राधिकरण, खाद्य संस्थान, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोषलगायत अर्धसरकारी संस्थाले सरकारी संस्था भएको भन्दै कर तिरेका छैनन् ।

महानगरले १५ भदौदेखि ठूला करदातालाई करको दायरामा ल्याउने अभियान सुरु गरेको थियो । १५ भदौमा फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएर कर असुल गरेपछि अन्य ठूला करदातालाई पनि करको दायरामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको थियो । महानगर टोली कर नतिर्ने करदाताकहाँ १६ देखि २५ साउन ०७८ सम्म पञ्चेबाजासहित कर तिर्न आग्रह गर्दै पुगेको थियो ।

घरजग्गा र सम्पत्ति कर तिर्न अटेर गरेपछि घर–आँगनमै पुगेर पन्चेबाजासहित व्यंग्य, नाच गरेको महानगरको भनाइ छ । केही करदाताले लाजैका कारण कर तिरेका थिए । जसकारण महानगरले अघिल्लो वर्षभन्दा २० करोड धेरै कर संकलन गरेको थियो । 

सुझावित समाचार