बलिङमा ललितनारायण राजवंशीले पाँच विकेट र ब्याटिङमा डविक वाल्टन चम्केपछि सोमबार नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किंग्सलाई पाँच विकेटले हराएको छ । विराटनगर सुपर किंग्सले दोस्रो हार व्यहोरेको छ । प्रतियोगितामा फार वेस्ट युनाइटेडले पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हरायो । यो लिगमा काठमाडौंको पहिलो हार हो । पहिलो खेलमा फार वेस्टलाई लुम्बिनी अलस्टार्सले ६७ रनले पराजित गरेको थियो ।
काठमाडौंले उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो । जितसँगै जनकपुरले दुई खेलमा चार अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । जनकपुरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पाँच विकेटले हराएको थियो । पहिलो खेलमा विराटनगर लुम्बिनी अलस्टार्ससँग तीन रनले पराजित भएको थियो । दोस्रो हारपछि विराटनगर पाँचौँ स्थानमा झरेको छ ।
ललितले लिए आठ रनमा पाँच विकेट
प्रतियोगिताअन्तर्गत छैटौँ खेलमा ललितले घातक बलिङ गर्दा विराटनगरको ब्याटिङ गतिलो भएन । ललितले आफ्नो चार ओभरको कोटामा केवल आठ रन खर्चेर पाँच विकेट लिए । ललितको घातक बलिङ सामना गर्न नसकेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४० रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा जनकपुरले इनिङ्सको अन्तिम बलमा पाँच विकेट गुमाएर एक सय ४१ रन जोड्दै रोमाञ्चक जित दर्ता गर्यो । ललितले आफ्नो स्पेलमा विराटनगरका सिकन्दर राजा (३८), हुसैन टलाट (२८), एन्ड्रे म्याक्याथी (१), पृथु बास्कोटा (०) र नन्दन यादव (०) को विकेट लिएका थिए । ललितले एक मेडन ओभर पनि राखे ।
पहिलो ब्याटिङ गरेको विराटनगरले राम्रो सुरुवात गर्न सकेन । इनिङ्सको १.१ ओभरमा गौरंशु शर्मा सामना गरेको पहिलो बलमै आउट भए । विराटनगरको ब्याटिङमा जिम्बावेका सिकन्दर राजा र कप्तान हुसेनबीच तेस्रो विकेटका लागि ४२ रनको साझेदारी भएको थियो । ललितद्वारा आउट हुनुअघि राजाले १८ बलमा चार छक्का र दुई चौका प्रहार गरेका थिए । त्यसपछि रोहितकुमार पौडेल र हुसेनबीच चौथो विकेटका निमित्त ४२ रनको साझेदारी गर्दै टोलीलाई ११३–४ को स्थितिमा पु¥याए । रोहितले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३२ रनको योगदान दिए । हुसेन आउट हुँदा विराटनगरले १६.३ ओभरमा १२७–७ को प्रदर्शन गरेको थियो ।
वाल्टनको अर्धशतकीय उत्कृष्ट इनिङ्स
जनकपुरले लक्ष्य पछ्याउँदा सहज भएन । विराटनगरका बलरले कसिलो बलिङ गर्दा जनकपुरले इनिङ्सको अन्तिम बलमा जित निकालेको हो । जनकपुरका लागि वेस्ट इन्डिजका ३७ वर्षीय खेलाडी वाल्टनले ५५ बलमा पाँच चौका र चार छक्का मद्दतमा अविजित ६९ रनको योगदान गरेका थिए । जनकपुरलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो ।
वाल्टनले टलटले फ्याँकेको अन्तिम ओभरमा समान दुई चौका र एक छक्का प्रहार गरी जनकपुरलाई रोमाञ्चक पाँच विकेटको जित दिलाए । उनले इनिङ्सको १६.६ ओभरमा दुई रन जोड्दा जनकपुरले बाजी मारेको हो । वाल्टनले मोहमद आदिल अलामसँग छैटौँ विकेटका लागि ३४ रनको विस्फोटक साझेदारी गरेका थिए । आदिलले ६ बलमा एक छक्काको सहयोगमा १० रन बनाए । पाँचौँ विकेटका लागि वाल्टनले सराफुद्दिनसँग महत्वपूर्ण ६२ रनको साझेदारी गरेका थिए ।
काठमाडौंले दियो ९९ रनको लक्ष्य
प्रतियोगिताअन्तर्गत अर्को खेलमा काठमाडौं नाइट्सले फार वेस्ट युनाइटेडविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सकेन । काठमाडौंले २० ओभरमा नौ विकेटको क्षतिमा ९८ रन मात्र बनायो । प्रत्युत्तरमा फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रन बनायो । फार वेस्टका लागि कप्तान हस्मतउल्लाह साहिदीले अर्धशतक बनाएका थिए । २८ वर्षीय अफगानी साहिदीले ४९ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ५० रन जोडे । साहिदी नै खेलको प्लेयर अफ दी म्याच घोषित भए । ओपनर देव खनालले १६ रन र भीम सार्कीले ११ रन जोडे । काठमाडौंका अनिल खरेलले चार ओभरमा एक मेडनसहित १० रन खर्चिएर दुई विकेट लिए ।
काठमाडौंको खराब ब्याटिङ
टस हारेर सुरुवाती ब्याटिङ गरेको काठमाडौंका लागि विदेशी खेलाडी एलेक्स ब्लेकले सर्वाधिक ४५ रन जोडेका थिए । चौथो नम्बरमा क्रिजमा आएका इंग्ल्यान्डका ३३ वर्षीय खेलाडी एलेक्सले ३७ बलमा पाँच चौका र एक छक्का हिर्काएका थिए । यसैगरी, कप्तान ज्ञानेन्द्र मल्लले १३ रन र सन्तोष कार्कीले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । मलेसियन खेलाडी विरन्दीप सिंहले चार रन, जिम्बावेका २८ वर्षीय रायन दुई रनमा पेभिलियन फर्किए । फार वेस्टका लागि युएईका ३६ वर्षीय खेलाडी उमेर अलीले सर्वाधिक तीन विकेट लिए । भुवन कार्की र साहिदीले समान दुई विकेट लिए ।