चितवनमा दुई सय २५ मेट्रिकटन क्षमताको सामूहिक शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । भरतपुर १, ठिमुरामा रहेको चितवन मिल्कको परिसरमा तयार पारिएको कोल्ड स्टोर नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालले उद्घाटन गरेका हुन् ।
कोल्ड स्टोर दूध तथा दुग्धपदार्थका लागि नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ, हेटौँडाको ५० प्रतिशत अनुदानमा डेरी उद्योग संघले उक्त स्टोरको निर्माण गरेको हो । एक करोड ८४ लाख १८ हजार कुल लागत रहेको स्टोरलाई दुई कक्षमा विभाजन गरी आठवटा डिपफ्रिज कोल्ड रुममा विभाजन गरिएको छ ।
कोल्ड स्टोरको स्थापनासँगै सिजनमा बढी भएको दूधसमेत विविधीकरण गरेर मिल्क होलिडेको अन्त्य गर्न सकिने आयोजनाले विश्वास व्यक्त गरेको छ । विकेन्द्रीकृत आयोजना सहयोग एकाइ, हेटौँडाका आयोजना प्रमुख डा. विदुरप्रसाद गौतमका अनुसार मिल्क होलिडेको अन्त्यसँगै कोल्ड स्टोरकै कारण डेरी उद्योगलाई कच्चा पदार्थको रूपमा आवश्यक हुने धुलो दूध–मक्खन उत्पादन गर्न सकिन्छ ।
यसले आयात प्रतिस्थापन गर्न, कोल्ड भेन पद्धति अपनाई गुणस्तर अभिवृद्धि गर्न र कृषकको स्तरमा दूध उत्पादनतर्फ आकर्षित गरी रोजगारी सिर्जना गर्न कोल्ड स्टोरले भूमिका खेल्नेछ । ठूलो कोल्ड स्टोर भएकाले धुलो दूध कारखाना र डेरीहरूको क्षमता उपयोगमा पनि योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । डेरी उद्योग संघमा ३१ वटा निजी डेरी आबद्ध छन् ।