स्नातकको नतिजा नआउँदै त्रिविले स्नातकोत्तरको भर्ना खुलायो

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

स्नातकको परीक्षा लिएको १० महिनासम्म पनि नतिजा दिएन

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको अन्तिम वर्षको नतिजा नै नआउँदै स्नातकोत्तर तहको भर्ना खुलाएको छ । परीक्षा दिएको १० महिनासम्म पनि नतिजा नपाएर हैरान विद्यार्थी स्नातकोत्तरको भर्ना खुलेसँगै थप अन्योलमा परेका छन् ।

त्रिविले मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा ५ पुसदेखि लागू हुने गरी भर्ना आवेदन मागेको छ । तर, तीनवर्षे बिएको तेस्रो वर्ष र चारवर्षे व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको नतिजा भने अहिलेसम्म आएको छैन । परीक्षा कुरेर बसेका विद्यार्थी झन्डै ७० हजार छन् । त्रिवि परीक्षण नियन्त्रण कार्यालयले तत्कालै नतिजा सार्वजनिक गर्ने अवस्था पनि छैन । यसले भर्ना कार्यक्रम नै प्रभावित भएको छ भने विद्यार्थी अन्योलमा छन् । परीक्षा ०७७ चैतमा भएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यही महिनाभित्रै नतिजा निकाल्ने बताए । जनशक्ति अभावमा नतिजा दिन ढिला भएको उनले बताए । ‘एउटा तह पार गर्ने ४८ हजार विद्यार्थीको रिजल्ट गर्र्यौँ, ७० हजारको रिजल्ट गर्न बाँकी छ,’ उनले भने, ‘नतिजा आउन बाँकी विद्यार्थीमा बिए तेस्रो वर्षका १८ हजार र अन्य बिबिएस चौथो वर्षका छन् ।’ 

स्नातकोत्तर तहमा भर्नाका लागि ४ माघसम्मको समय तोकिएको छ । अहिलेको अवस्थामा विद्यार्थीको नतिजा आइसकेपछि ट्रान्सक्रिप्ट निकालेर माथिल्लो तहमा भर्ना हुनका लागि समय नपुग्ने देखिन्छ । नियन्त्रक जोशीले अहिले नतिजाको विषयमा धेरैले चासो दिएको र डिन कार्यालयहरूले भर्नाका लागि समय थप्ने विषयमा छलफल भएको बताए ।

नतिजाका लागि दबाब आएपछि पनिकाले कर्मचारीलाई अतिरिक्त समय काम लगाएर छिटो निकाल्ने प्रयास गरेको पनि उनको दाबी छ । पनिकाले शुक्रबार स्नातक तह साइन्सको नतिजा सार्वजनिक गरेको थियो । 

See More On

सुझावित समाचार