कुनै समय भारतको कोलकातास्थित हुगली जिल्लामा एक चर्चित वकिल बस्थे । उनको नाम शशिभूषण वन्द्योपाध्याय थियो । उनी निकै उदार र दयालु व्यक्तिका रूपमा परिचित थिए । वैशाख–जेठको समय थियो । गर्मी निकै चर्केको थियो । सहरका एकजना विख्यात मानिससँग उनको कुनै काम थियो । गर्मीले गर्दा घरबाहिर निस्किन मुस्किल थियो । तैपनि, महŒवपूर्ण काम भएकाले नगई पनि भएको थिएन । त्यसैले, उनी एउटा भाडाको गाडी लिएर ती व्यक्तिको घरमा पुगे ।
ती व्यक्तिले शशिभूषणको जोडदार स्वागत सत्कार गरे । केहीबेरको भलाकुसारीपछि उनले शशीभूषणसँग प्रश्न गरे– यस्तो प्रचण्ड गर्मीमा यति कामका लागि तपाईं आफैँले यहाँसम्म आउने कष्ट किन उठाउनुभयो ? यत्ति कामका लागि त तपाईंले पत्र दिएर आफ्ना कुनै सहयोगीलाई पठाइदिनुभएको भए पनि हुन्थ्यो नि, होइन र ?
उनको यस्तो जिज्ञासा सुनिसकेपछि शशिभूषणले गम्भीर हुँदै भने– मैले पनि सुरुमा त यही सोचेको थिएँ । मैले त्यसका लागि पत्र पनि लेखिसकेको थिएँ । तर, बाहिरको प्रचण्ड गर्मी र लुको अनुभूति भएपछि मैले आफ्नो सहयोगीलाई यस कामका लागि पठाउनु कुनै पनि अर्थमा ठिक हुँदैन जस्तो लाग्यो । त्यसैले मैले उसलाई यता पठाउने साहस गर्नै सकिनँ । म आफैँ यहाँ आउँदा जसोतसो भाडाको गाडीमा आएँ । यदि मैले उसलाई यता पठाएको भए ऊ त पैदलै आउन बाध्य हुने थियो । आखिर उसमा पनि त त्यही आत्मा छ, जुन ममा पनि छ । उनको कुरा सुनेर प्रश्नकर्ता पनि छक्क परे ।