नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रूपमा आफूले हेर्न चाहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरू गरे पनि पटकपटक प्रधानमन्त्री बनिरहँदा राम्रा कामको चर्चा हुन नसकेको बताए। देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजातिलगायत आयोगहरूको स्थापना भएको उल्लेख गरे।
महामन्त्री शर्माले प्रधानमन्त्री देउवासमक्ष आफ्ना राम्रा कामहरूलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई अघि सार्नुपर्ने आवश्यकता रहेको औँल्याए। पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रस्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने शर्माको धारणा छ।
‘हामीले त्याग गर्न सकेका छौँ भने पाँचपटक प्रधानमन्त्री भइसकेको मान्छे अब साथीहरूलाई छोडिदिन्छु भनेर कुनै हिच्किचाहट छोड्नुहुन्छ भन्ने मलाई लाग्छ। आज साँझ हुने उम्मेदवारी दर्तामा शेरबहादुर देउवाको नाम संसदीय दलको नेताको रूपमा होइन, संसदीय दलको कुनै अर्को नेतालाई प्रस्तावकको रूपमा हेर्न पाइनेछ। म संसदीय दलको नेतामा गगन थापालाई राखेर प्रस्तावक बन्न उभिनेछु,’ उनले भने।