हेल्थ टिप्स
छारेरोगलाई चिकित्सकीय भाषामा एपिलेप्सी भनिन्छ । हाम्रो समाजमा छारेरोग भूतप्रेतका कारणले लाग्छ भन्ने भ्रम छ । कतिपयले यसलाई निको नहुने रोग, सरुवा रोग भन्ने पनि गरेका छन् । तर, यी सबै भ्रम हुन् । छारेरोग मानिसको मस्तिष्कमा आउने गडबडीका कारण निम्तिन्छ । समयमै यसको उपचार गर्दा निको हुन सकिन्छ ।
कारण
दिमागमा करोडौँ स्नायुहरू हुन्छन् । यी स्नायु हाम्रो शरीरसँग जोडिएका हुन्छन् । यसैमार्फत बोल्ने, हातखुट्टा चल्नेलगायत सबै क्रियाकलाप भइरहेको हुन्छ । तर, कहिलेकाहीँ ब्रेनमा करेन्टको बहाव सामान्यभन्दा बढी हुन्छ । यसो हुँदा मानिस बेहोस हुने, हात काम्ने, आँखामाथि पल्टाउने, जिब्रो टोक्ने हुन्छ । कसैलाई एक–दुई मिनेट त कसैलाई पाँच मिनेटसम्म यस्तो हुन्छ । कसै–कसैलाई एक–दुई घन्टा वा २४ घन्टासम्म पनि हुन सक्छ ।
यो रोग जुनसुकै उमेर समूहमा पनि हुन सक्छ । तर, यो सरुवा रोग होइन । धेरै कारणले छारे हुन सक्छ । जसमध्ये मेरिन्जाइटिस, ब्रेन ट्युमर, टाउकोमा चोट लागिसकेपछि तुरुन्त वा पछि पनि हुन सक्छ । बालबालिकामा श्वासप्रश्वासमा समस्या भयो भने पनि हुन सक्छ । कतिपयलाई पक्षघात भइसकेपछि पनि हुन सक्छ ।
दिमागमा पुराना दागहरू छ भने पनि हुन सक्छ । कसै–कसैमा जुकाको अन्डाको संक्रमणको कारणले पनि हुन सक्छ । तीनदेखि पाँच वर्षको बालबालिकामा ज्वरो आउँदा पनि छारे आउन सक्छ । अल्कोहलको सेवनले पनि छारेरोग हुन सक्छ ।
लक्षण
- बेहोस हुने
- हातखुट्टा तन्काउने
- शरीर काम्ने
- कपडामै पिसाब फेर्ने
- आँखा माथि पल्टाउने
- जिब्रो टोक्ने, फिँज काड्ने
- हात झमझमाउने, काम्ने
- केही थाहा नभएको जस्तो हुने
- बसिरहेको व्यक्ति अचानक ढल्ने
कसरी बच्ने ?
- स्वस्थकर खाना खाने । राम्रोसँग नपाकेको वा काँचो, बंगुर या सुँगुरको मासुबाट नाम्ले, जुकाको अन्डा सर्ने भएकाले यस्ता खानेकुरा राम्रोसँग पकाएर मात्र खाने ।
- टाउकोमा चोटपटक लाग्न नदिने ।
- अनिद्रा नबस्ने । आठ घन्टा अनिवार्य सुत्ने ।
- तनाव र थकानबाट टाढा बस्ने ।
- अल्कोहलको सेवन नगर्ने ।
- मोबाइल, टिभीको प्रयोग कम गर्ने ।
- छारेरोगको लक्षण देखिएमा अस्पताल लैजाने ।
उपचार
चिकित्सकको सल्लाहअनुसार औषधि उपचार गर्नुपर्छ । चिकित्सकले टाउकोको सिटिस्क्यान, एमआरआई गराउने गर्दछन् । ब्रेनमा विद्युतीय तरंग कस्तो छ भनेर हेर्छन् । रगतको जाँच गर्छन् । भविष्यमा छारेरोग नआउनका लागि विभिन्न औषधिको प्रयोग गर्छन् । बिरामीको अवस्था हेरेर औषधि दिने गर्छन् । चिकित्सकले प्रेस्क्राइब गरेको औषधि नियमित सेवन गर्न जरुरी छ ।
रोगले छोप्दा के गर्ने ?
छारेरोगले छोपेको वेला बिरामीलाई चोटपटक लाग्नबाट बचाउनेतिर लाग्नुपर्छ । बिरामीलाई देब्रेपट्टि कोल्टो पारेर सुताउनुपर्छ । छारे आउने वेलामा निस्केको फिँज सर्केर फोक्सोमा गई निमोनिया हुन सक्छ । देब्रेपट्टि सुताउँदा योे सम्भावना कम भएर जान्छ । जुनसुकै वेला पनि यो रोग लाग्न सक्ने भएकाले बिरामीमा लक्षण देखिनासाथ सतर्क भएर अस्पताल लैजानेबारे सोच्नुपर्छ । बिरामीले दाँत किटेको वेला चम्चा छिराउने चलन छ, तर यस्तो गर्नुहँुदैन । कतिपयले मोजा सुँघाउने गर्छन्, यो पनि गर्नुहुँदैन । पाँच मिनेटभित्रमा आफैँ कम भएन भने तत्काल अस्पताल लैजानुपर्छ ।