कठ्यांग्रिदो जाडोमा बादी समुदायको बिचल्ली

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

पुसको महिना, कर्णाली नदीको चिसो सिरेटो छल्न खोलातिरमा बनाइएको झुपडीमा ढोकाबाट चिसो छल्न गुग्योको ढोका देखिन्छ। आकाशको शीत छेक्न त्रिपाल। यही चिसो सिरेटोमा रात काट्न बाध्य दैलेखको रामाघाट बजारका बादी बस्ती यति वेला बिचल्ली परेको छ। 

दैलेखको आठबिस नगरपालिका १ को कर्णाली राजमार्गमा पर्ने रामघाट बजारनजिक १७ घर वादी समुदायको बसोबास छ।

गत वर्ष आठबिस नगरपालिकाले जनता आवास कार्यक्रमअन्तर्गत बादी समुदायको सुरक्षित वासस्थानका लागि घर निर्माण गरिदिएको भए पनि गत असोजमा आएको अविरल वर्षासँगै सडकमाथिको पहिरो बस्तीमै खसेपछि उनीहरू विस्थापित भएका थिए।  

विस्थापित जीवन बिताएका धीरेन बादी भन्छन्, ‘स्थानीय पालिका सरकारले हामीलाई राम्रै व्यवस्थापन गर्ने प्रयास गरेको थियो। घरनिर्माण गरिदिएको थियो, तर वर्षातले निर्माण गरिएको घरमाथिबाट पहिरो झर्याे। दुई महिनादेखि कर्णाली किनारमा पालको सहारामा बसिरहेका छौँ।’ 

दिनदिनै चिसो बढेका कारण बस्तीमा रहेका बालबालिका, वृद्ध र युवासमेत समस्यामा परेका छन्। विगत दुई महिनादेखि त्रिपालको भरमै बस्नुपर्ने बाध्यता भएपछि उचित स्थानमा बस्ती स्थानान्तरण गरिदिन बादी समुदायले माग गरेका छन् 

विगत २६ वर्षदेखि आठबिस नगरपालिका १ रामघाटामा बसोबास गर्दै आएका बादी समुदायहरू दैनिक आउने सवारीसाधनहरूमा सामान ओसारपसार गरेर गुजारा चलाउँदै आएका छन्। बस्तीमाथिबाट आएको पहिरोको जोखिम अहिले पनि कायमै छ। रामघाट बजारसमेत पहिरोको उच्च जोखिममा छ।

सुझावित समाचार