कृषि विकास कार्यालय हुम्ला कर्मचारीविहीनजस्तै भएपछि सेवाग्राही मर्कामा परेका छन्। कार्यालयमा प्रमुख र लेखापाल नहुँदा योजना सम्झौता गर्न आएका सेवाग्राही मर्कामा परेका हुन्।
दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेका चंखेली, अदानचुली, ताजाँकोट गाउँपालिकाका विभिन्न गाउँबाट आएका सेवाग्राही मर्कामा परेका छन्। कृषि विकास कार्यालयका प्रमुख चन्दभूषण झा र लेखापाल रामाकान्त आचार्य जाडो छल्न सहर झरेका छन्।
सिँचाइको सम्झौता गर्न सदरमुकाम सिमकोट पुगेका सर्केगाड गाउँपालिका– १ तुम्चका दन्तबहादुर मल्लले कार्यालय प्रमुख र लेखापाल कार्यालयमा नभएको बताए। उनका अनुसार १३ जनाको दरबन्दी रहेको कार्यालयमा अहिले दुईजना कर्मचारी मात्रै छन्।
टाडो कुला सिँचाइको सम्झौता गर्न सदरमुकाम सिमकोट पुगेका सर्केगाड गाउँपालिका– १ तुम्चका सुरेन्द्र रावतले कर्मचारी नहुँदा सास्ती पाएको बताए। ‘आठ लाखको योजना हो। बिहान–बेलुका खानेबस्ने गर्दा चार सयको दरले खर्च हुन्छ,’ रावतले भने।
कार्यालयका सूचना अधिकारी निर्मल लामाका अनुसार प्राविधिकहरू कार्यालय फिल्डतिर गएका छन्। ‘कार्यालय प्रमुख तालिममा छन्। लेखापाल पनि जिल्लाबाहिर छन्,’ लामाले भने। दुईजनाको भरमा कृषि विकास कार्यालय चल्दा सेवाग्राहीले भने दुःख पाएका छन्।