विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

२२औँ विश्वकप फुटबल प्रतियोगिताको समापन अर्थात् फाइनल खेल आइतबार राति हुँदै छ । साबिक विजेता फ्रान्सले अर्जेन्टिनाको सामना गर्दै छ । फाइनलमा जसले जिते पनि रेकर्ड बनाउनेछन् । दुवै टोली समान दुईपटकका विजेता हुन् । यसै खेलसँगै अर्को रेकर्ड पनि बन्ने पक्का छ । अर्जेन्टिनी कप्तान लियोनल मेसीले विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड बनाउनेछन् । अहिले जर्मनीका पूर्वकप्तान लोथार म्याथ्युज र मेसीले समान २५ खेल खेलेका छन् ।

लोथार म्याथ्युज (जर्मनी)  : विश्वकप सहभागिता ५, खेल २५
जर्मनीका विश्व च्याम्पियन खेलाडी म्याथ्युजले विश्वकपमा २५ खेलमा सहभागिता जनाएका थिए । म्याथ्युजको रेकर्ड अर्जेन्टिनी कप्तान लियोनल मेसीले बराबरी गरेका छन् । अब म्याथ्युजले विश्वकपमा सन् १९९८ देखि राखेको कीर्तिमान आइतबार तोडिनेछ । म्याथ्युजले विश्वकपमा सर्वाधिक खेलको रेकर्ड राख्न पाँच विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । सन् १९८२ देखि १९९८ सम्म उनले जर्मनी टोलीबाट निरन्तर विश्वकपमा प्रतिस्पर्धा गरे । सन् १९८६ मा जर्मनी विश्वकपमा उपविजेता हुँदा म्याथ्युज उत्कृष्ट फर्ममा थिए । सन् १९९० मा उनकै कप्तानीमा जर्मनीले तेस्रोपटक विश्वकप उपाधि उचाल्यो । सो फाइनलमा पश्चिम जर्मनीले अर्जेन्टिनाालाई १० ले हराएको थियो । सन् १९८० मा जर्मनी टोलीबाट डेब्यु गरेका म्याथ्युजले २००० सम्म खेले । यसक्रममा उनले एक सय ५० खेलमा २३ गोल गर्न सफल भए । जर्मन फुटबल इतिहासमा उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्नेमा पर्छन् । 

लियोनल मेसी (अर्जेन्टिना) : विश्वकप सहभागिता ५, खेल २५
अर्जेन्टिनी प्लेमेकर मेसीले आइतबार फ्रान्सविरुद्धको फाइनल खेलमा विश्व कीर्तिमान बनाउनेछन् । मैदानमा प्रवेश गरेसँगै उनी विश्वकपकै सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । मेसीले अहिलेसम्म २५ खेल खेलेका छन् । मेसीले सन् २००६ मा जर्मनीमा भएको विश्वकपदेखि निरन्तरता सहभागिता जनाइरहेका छन् । कतार विश्वकपको सेमिफाइनलमा क्रोएसियासँगको प्रतिस्पर्धामा उनले म्याथ्युजको रेकर्ड बराबरी गरेका थिए । चालू विश्वकपमा उनी उत्कृष्ट फर्ममा छन् । गोल्डेन बुटकै दाबेदारी खेलाडीको शीर्ष स्थानमा रहेका मेसीले पाँच गोल गरेका छन् । साथै, विश्वकपमा उनको नाममा ११ गोल पुगेको छ । विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसी संयुक्त रूपमा छैटौँ स्थानमा छन् । मेसीले अर्जेन्टिनी टोलीबाट एक सय ७१ खेलमा ९६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले २८ वर्षपछि (२०१४) विश्वकपको फाइनल स्थान पक्का गरेको थियो । 

फ्रान्सविरुद्धको फाइनलमा मैदानमा प्रवेश गरेसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्वकपकै सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । जर्मनीका लोथार म्याथ्युज र मेसीले समान २५ खेल खेलेका छन् । 

मिरोस्लाभ क्लोज (जर्मनी) : विश्वकप सहभागिता ४, खेल २४
जर्मनीका स्ट्राइकर क्लोज विश्वकपकै सर्वाधिक गोलकर्ता हुन् । उनले कीर्तिमानी रूपमा १६ गोल गरेका छन् । यो उपलब्धि उनले सन् २०१४ को विश्वकपमा हात पारेका थिए । विश्वकपमा धेरै खेल खेल्ने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । उनले चार विश्वकपमा सहभागिता जनाउँदै २४ खेल खेलेका थिए । सन् २००२ देखि २०१४ को विश्वकपसम्म उनले भाग लिए । विश्वकपको यात्रामा उनी एकपटक विश्व च्याम्पियन, एकपटक उपविजेता तथा समान दुईपटक तेस्रो स्थान हात पारेका थिए । सन् २००१ मा उनले जर्मनी टोलीमा स्थान बनाए । सन् २०१४ मा उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिनुअघि एक सय ३७ अन्तर्राष्ट्रिय खेलमा ७१ गोल गरेका थिए । सन् २००२ को डेब्यु विश्वकपमै उनले पाँच गोल गर्न सफल भए । सन् २००६ को विश्वकपमा पाँच गोल गरेका क्लोजले सन् २०१० मा चार र सन् २०१४ को विश्वकपमा दुई गोल गरेका थिए । 

पाओलो माल्दिनी (इटाली) : विश्वकप सहभागिता ५, खेल २३
इटालियन फुटबलमा सेन्टर ब्याक खेलाडी माल्दिनी उत्कृष्ट खेलाडीमा पर्छन् । चारपटकको विश्व च्याम्पियन इटालीका लिजेन्ड खेलाडी माल्दिनीले विश्वकपमा २३ खेल खेलेका थिए । यो उपलब्धि हात पार्न उनले चार विश्वकपमा सहभागिता जनाए । सन् १९९० मा घरमै आयोजना भएको विश्वकपमै उनले सेमिफाइनलको यात्रा तय गरेका थिए । सन् १९९४ को विश्वकपमा ब्राजिलसँग फाइनलमा टाइब्रेकरमा फाइनलमा पराजित हुँदा उनी इटालियन टोलीकै मुख्य खेलाडी थिए । माल्दिनीले सन् २००२ को विश्वकपसम्म खेले । सन् १९९५ मा फिफा वर्ष खेलाडी भएका माल्दिनीले इटालीबाट सन् १९८८ मा डेब्यु गरेका थिए । सन् २००२ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिँदा उनले एक सय २६ अन्तर्राष्ट्रिय खेलमा सात गोल गरेका थिए । क्लबस्तरीय खेलमा उनले एकै टोलीबाट मात्र प्रतिस्पर्धा गरेका थिए । सन् १९८५ देखि २००९ सम्म सिरिए क्लब एसी मिलानबाट लगातार ६ सय ४७ खेलमा सहभागिता जनाउँदै २९ गोल गरे । 

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) : विश्वकप सहभागिता ५, खेल २२
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप इतिहासमै एक रेकर्ड बनाएका छन् । लगातार पाँच विश्वकपमा गोल गर्ने उनी एक मात्र खेलाडी हुन् । चालू विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको पोर्चुगलले घानालाई ३–२ ले हराउँदै रोनाल्डोले पेनाल्टी गोल गरेका थिए । पाँचपटकको बालोन डिअर विजेता रोनाल्डोले पाँचौँ प्रयासमा पनि पोर्चुगललाई विश्वकप उपाधि दिलाउन सकेनन् । विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा उनी पाँचौँ स्थानमा छन् । उनले पाँचवटा विश्वकपमा २२ खेल खेले । चालू विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएसँगै रोनाल्डोको अन्तिम विश्वकप खेल बन्यो । रोनाल्डोले सन् २००६ देखि निरन्तर रूपमा विश्वकप खेले । रोनाल्डोले विश्वकपमा सात गोल गरेका छन् । सन् २००३ मा पोर्चुगलबाट डेब्यु गरेका रोनाल्डोले एक सय ९६ अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी एक सय १८ गोल गरेका छन् । पछिल्लो समय उनी 
क्लबविहीन छन् । 

डिएगो म्याराडोना (अर्जेन्टिना) : विश्वकप सहभागिता ४, खेल २१
दुई वर्षअघि अर्जेन्टिनी फुटबलकै लिजेन्ड म्याराडोनाको निधन भयो । फुटबलकै एक महान् खेलाडीको दर्जा पाएका म्याराडोनाले आफ्नो एकल प्रयासमा अर्जेन्टिनालाई सन् १९८६ मा च्याम्पियन र सन् १९९० मा विश्वकपको उपविजेता बनाएका थिए । फुटबलमा सधैँ विवादको घेरामा रहने म्याराडोनाले विश्वकपमा २१ खेल खेलेका छन् । सन् १९८२ उनले विश्वकपमा डेब्यु गरेका थिए । उनी सन् १९९४ को अमेरिकाले आयोजना गरेको विश्वकपमा प्रतिबन्धित लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परे । विश्वकपमा २१ खेल खेल्दै उनले आठ गोल गरेका थिए । सन् १९७७ देखि १९९४ सम्म अर्जेन्टिनी टोलीबाट ९१ खेलमा सहभागिता जनाउँदा उनले ३४ अन्तर्राष्ट्रिय गोल गरेका थिए । म्याराडोनाले आफ्नो करिअरमा एक विवादास्पद गोल गरेका थिए । सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा उनले इंग्ल्यान्डविरुद्ध हातले गोल गरेका थिए । जुन विश्वकपकै सर्वाधिक विवादास्पद गोलका रूपमा रह्यो । 

See More On

सुझावित समाचार