कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तयारी थालेको छ । यसका लागि आइतबार कांग्रेसले कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको निर्वाचनका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ । महामन्त्री गगन थापाका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठक दिँउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । महामन्त्री थापाले बैठकले निर्वाचन समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । उनले बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन हुने बताए ।
त्यसैबीच सांसदहरूको शनिबारको भेलामा सहभागी संसदीय दलको नेताका आकांक्षी आफ्नो दाबीबारे भने खुलेनन् । भेलामा संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा दाबी गरेका ६ जना आकांक्षी नै सहभागी थिए । सभापति देउवाले सांसदहरूसँग आफ्नो दाबी रहनेबारे कुनै भनाइ राखेका थिएनन् । नेता पौडेल र पूर्वमहामन्त्री शशांक कोइराला कुनै प्रतिक्रिया नजनाई बाहिरिएका थिए । नेता प्रकाशमान सिंह भने उपयुक्त समय आएपछि बोल्ने भन्दै बाहिरिए । ‘उपयुक्त समय र स्थानमा यसबारे बोलौँला,’ सिंहको प्रतिक्रिया थियो ।
संस्थापनपक्षीय सांसहरू डा. महत, निधि, साउदलगायतले भने देउवा नै अबको प्रधानमन्त्री बन्नुपर्ने भन्दै खुलेर बोले । ‘संसदीय दलको नेता सर्वसम्मत बनाउने हाम्रो प्रयास हुन्छ । बहुमत नभएका कारण अरू दलको सहयोग लिएर हामीले सरकार बनाउनुपर्ने हुन्छ । त्यो अवस्थामा कांग्रेस एकढिक्का भएको सन्देश दिनुपर्छ र सर्वसम्मत नेतृत्व चयनको प्रयास हुन्छ । नभए निर्वाचनको प्रक्रियाबाट नेता चयन हुन्छ,’ देउवालाई महतले भनेका थिए ।
यता संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री थापाले पनि दाबीबारे खुलाएनन् । कोइराला र थापालाई देउवाको निमन्त्रणाले एकै ठाउँमा ल्याएको थियो । तर, भेट अभिवादनमा नै सीमित बनेको थियो । कोइरालाले संसदीय दलमा को लड्ने भन्ने नितान्त कांग्रेसभित्रको कुरा भएको प्रतिक्रिया दिए । ‘यो आमचासोको विषय नै होइन, कांग्रेसभित्रको आन्तरिक कुरा हो,’ कोइरालाको भनाइ थियो, ‘तपाईंहरूले मेरो मुखबाट मेरो दाबीबारे केही पनि निकाल्न सक्नुहुन्न । त्यो पनि बुझ्नुस ८९ जना सांसद्ले जसलाई बढी भोट दिन्छन् उसले जित्ने हो ।’
महामन्त्री थापाले आफ्नो अडान नछाड्ने स्पष्ट पारे । उनले संस्थापनइतर समूह अझै स्पष्ट निर्णयमा नपुगेको संकेत गरे । ‘मेरो दाबी रहन्छ । मबाहेक पार्टीमा अहिलेसम्म कसैैले पनि दाबी गर्नुभएको छैन । सभापतिले पनि दाबी गर्नुभएको देखिँदैन,’ उनको भनाइ थियो, ‘अरू कसको दाबी रहन्छ मेरो जानकारीमा छैन ।’
सांसदलाई देउवाको निर्देशन– सांसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुस्
चियापान कार्यक्रममा सभापति देउवाले सांसदहरूलाई संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । सांसद ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्वाचनपछि पहिलोपटक बालुवाटारमा सांसदहरूको भेला गरेका देउवाले संसद्मा सक्रियताका साथ लाग्न निर्देशन दिएका हुन् । ‘संसद्मा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नुस् । निर्वाचनका क्रममा जनतासामु गरेका वाचा पूरा गर्न लाग्नुस्,’ भेलामा देउवाको भनाइ थियो ।
गैरराजनीतिक राष्ट्रपति बन्न सक्दैन : उपसभापति खड्का
कांग्रेसभित्र गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति नबनाउन आवाज उठेको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गैरराजनीतिक पृष्ठभूमिको राष्ट्रपति बन्ने सम्भावना नरहेको संकेत गरेका छन् । उनले गैरराजनीतिक पृष्ठभूमिको राष्ट्रपति बन्ने चर्चापछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
शनिबार उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले स्टाटसमार्फत राष्ट्रपति छान्ने कुरामा कांग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताएका छन् । ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो । मेरो प्रस्ट धारणा छ– राष्ट्रपति देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल–दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ । यो कुरामा नेपाली कांग्रेस कसैसँग सम्झौता गर्न सक्तैन, गर्नुहुँदैन ।’