फिफाले आर्थिक पक्षसँग जोडेर तेस्रो र चौथो स्थानलाई प्राथमिकतामा राखेको छ । स्पेनिस आउटलेट डिआरियो एसको एक रिपोर्टअनुसार फिफाले विश्वकप आयोजना गर्दा विज्ञापनदातासँग समूह चरणदेखि फाइनलसम्मको सम्झौता गरेको हुन्छ।
२२औँ संस्करण विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । अर्जेन्टिना र साबिक विजेता फ्रान्सले आइतबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । सबैको चाहना विश्वकप उपाधि जित्ने हो । यसमा एक टोली मात्र सफल हुन्छ । विश्वकपमा उपाधि भिडन्तअघि थप एक खेल पनि हुन्छ । त्यो हो, सेमिफाइनलमा पराजित भएका दुई टोलीबीचको प्रतिस्पर्धा । यी दुवै टोली तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो समय फाइनलजस्तै तेस्रो स्थानका लागि हुने खेलसमेत महत्वपूर्ण रूपमा लिएको पाइन्छ । यद्यपि, विश्वकपको कुनै पनि स्थान प्राप्त गर्नु भनेको सहभागी टोलीले त्यत्तिकै महत्वपूर्ण रूपमा लिने गरेको छ ।
विश्वकप सहभागिता नै ऐतिहासिक हो । फिफाले वरीयता निर्धारण गर्न विश्वकपमा स्थान छुट्याउँदा इतिहास नै बन्ने गर्छ । यो संस्करणमा हामी यस स्थानमा थियौँ भन्ने उदाहरण खेलाडीले दिने गर्छन् । यस्तै चर्चा अब क्रोएसिया र मोरक्कोका खेलाडीले अगाडि दिनमा गर्नेछन् । शनिबार राति कतार विश्वकपको तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुँदै छ । क्रोएसिया र मोरक्को सेमिफाइनलमा पराजित टोली हुन् ।
मोरक्को फ्रान्ससँग २–० र क्रोएसिया अर्जेन्टिनासँग ३–० ले सेमिफाइनलमा पराजित भएका थिए । विश्वकपमा मोरक्को पहिलोपटक सेमिफाइनलमा पुगेको हो । अफ्रिकन टोलीका रूपमा अन्तिम चारको स्थान बनाउने मोरक्को पहिलो राष्ट्र हो । सन् १९३० मा विश्वकप सुरु भएको थियो । फिफाले आधिकारिक रूपमा १९५४ देखि मात्र विश्वकपमा तेस्रो र चौथो स्थानको प्लेअफ अवधारणा ल्यायो । यसअघिका विश्वकपमा फिफाले विभिन्न नियम बनाउँदै तेस्रो स्थान छिनोफानो गरेको थियो ।
कुनै पनि खेलाडी कांस्य पदकका लागि हुने खेल खेल्न चाहँदैनन् । फिफाको प्रक्रिया र वरीयता निकाल्न निमित्त नै खेलाडी तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै आइरहेका छन् । ‘सेमिफाइनलमा पराजित हुने टोली कांस्य पदकका लागि खेल्न चाहँदैनन्, यो स्थान नभएर पदकको भिडन्त हो,’ फिफाले जनाएको छ, ‘फुटबल समर्थकले यसको विरोध वेला–वेलामा गर्छन् ।’ दुई सेमिफाइनलिस्टबीचको खेल अर्थहीन पनि भनिएको छ ।
तर, फिफाले आर्थिक पक्षसँग जोडेर तेस्रो र चौथो स्थानलाई प्राथमिकतामा राखेको हो । स्पेनिस आउटलेट डिआरियो एसको एक रिपोर्टअनुसार फिफाले विश्वकप आयोजना गर्दा विज्ञापनदातासँग समूह चरणदेखि फाइनलसम्मको सम्झौता गरेको हुन्छ ।
सेमिफाइनलमा पराजित टोलीलाई संयुक्त रूपमा स्थान दिन गाह्रो छ । ‘दुवै टोलीलाई सेमिफाइनलिस्ट घोषणा गर्दा प्रायोजकको थप रकम खर्च हुन्छ । फिफाले आफ्ना विज्ञापनदाताको थप रकम बचाउन पनि तेस्रो र चौथो स्थान राखेको हो,’ आउटलेटले जनाएको छ ।
अतिरिक्त समयमा धकेलियो खेल
सन् १९८६ को विश्वकपमा बेल्जियम र फ्रान्सबीच तेस्रो स्थानका लागि खेल भयो । इतिहासमै पहिलोपटक अतिरिक्त समयमा तेस्रो टोलीको छिनोफानो भयो । बेल्जियममाथि फ्रान्सले ४–२ को नतिजा निकाल्यो । कतिपयले तेस्रो स्थानका निमित्त हुने खेललाई ‘अति नै बोरिङ’ भन्ने गरेका छन् । यस खेलमा प्रतिस्पर्धा नै हुँदै छ । सेमिफाइनलमा पराजित दुई टोली केवल औपचारिकता पूरा गर्न मात्र भूमिका निर्वाह गरेको आउटलेटको भनाइ छ ।
केही संस्करणयता तेस्रो स्थानमा पनि हाई स्कोरिङ खेल हुन थालेको छ । विश्वकपमा तेस्रो स्थान प्राप्त गर्दै प्रतियोगिता सुखद बनाउने प्रयासमै खेलाडीहरू स्कोरिङ गर्न निस्कने गरेका छन् । विश्वकपमा सन् १९७४ को संस्करण निकै निरस थियो । यस खेलमा तेस्रो स्थान हात पार्ने टोली १–० ले विजयी भएको थियो ।
सन् १९९० को संस्करण इटालीले प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डलाई २–१ ले हरायो । सन् २००२ मा टर्कीका हाकन सुकरले तेस्रो स्थानका लागि भएको खेलमा इतिहास नै रचे । उनले खेलको केवल ११ सेकेन्डमै दक्षिण कोरियाविरुद्ध गोल गरेका थिए । विश्वकप इतिहासमा सुकरको त्यो गोल नै सर्वाधिक छिटो हो । सन् २०१८ को विश्वकपमा बेल्जियमले इंग्ल्यान्डलाई २–० ले हराउँदै तेस्रो स्थान रक्षा गरेको थियो ।
जर्मनी सर्वाधिक चारपटक तेस्रो
विश्वकपमा ब्राजिलपछि जर्मनी र इटाली सर्वाधिक सफल टोली हुन् । जर्मनी र इटालीले समान चारपटक विश्वकप ट्रफी जितेका छन् । विश्वकपको तथ्यांकमा जर्मनीले धेरैपटक तेस्रो स्थान रक्षा गरेको छ । सन् १९३४ र सन् १९७० को संस्करणमा जर्मनीले तेस्रो स्थान हात पारेको थियो । सन् २००६ र २०१० को संस्करणमा जर्मनीले ब्याक टु ब्याक तेस्रो स्थान रक्षा गर्यो । यसैगरी, सर्वाधिक पाँचपटकको विजेता ब्राजिल, फ्रान्स, स्विडेन र पोल्यान्डले दुई–दुईपटक तेस्रो स्थानमा चित्त बुझाएका छन् ।
चारपटकको विजेता इटाली, नेदरल्यान्ड्स, क्रोएसिया, अस्ट्रिया, पोर्चुगल, बेल्जियम, अमेरिका, चिली र टर्कीले समान एकपटक तेस्रो स्थानमाथि कब्जा जमाए । दुईपटकको विश्वकप विजेता उरुग्वे तीनपटक चौथो भएको छ । सन् १९५४, १९७० र २०१० मा उरुग्वेले चौथो स्थानमा विश्वकप सकाएको थियो । यसैगरी, ब्राजिल र इंग्ल्यान्ड दुई–दुईपटक चौथो भए ।
