कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो दिन रियल म्याड्रिडमा प्रशिक्षण गरेको डेली मेलले जनाएको छ । कुनै पनि क्लबसँग आबद्ध नभएका रोनाल्डोले आफूलाई फिट बनाउन पूर्वक्लब म्याड्रिडको शरणमा पुगेको डेली मेलको भनाइ छ । गत नोभेम्बरको एक अन्तर्वार्तामा रोनाल्डोले विवादास्पद रूपमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको विरोध गरेका थिए ।
रोनाल्डोले नोभेम्बरमा पिअर्स मोर्गनलाई दिएको अन्तर्वार्तापछि विवादमा मुछिए । पाँचपटकको बालोन डिअर विजेता रोनाल्डोले अन्तर्वार्तामा प्रशिक्षक एरिक टेन हाग र मालिक ग्लाजेर परिवारको निकै आलोचना गरेका थिए । उनले म्यानचेस्टरमा कुनै सम्मान नभएको प्रतिक्रिया दिएका थिए । अन्तर्वार्ताकै आधार बनाएर युनाइटेडले रोनाल्डोसँगको सम्झौता तोडेको थियो । विश्वकपअगाडि नै युनाइटेडले रोनाल्डोसँग कुनै सम्बन्ध नराखेको घोषणा गर्यो ।
कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफूलाई फिट बनाउन पूर्वक्लब रियल म्याड्रिडमा प्रशिक्षण सुरु गरे
त्यसपछि ३७ वर्षीय रोनाडो ‘फ्री एजेन्ट’ बनेका छन् । म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोबीचको सम्बन्ध सुमधुर रहेको छ । यही सम्बन्धका कारण नै रोनाल्डोले म्याड्रिडबाट प्रशिक्षण गर्न अवसर पाएका हुन् । म्याड्रिडका अध्यक्ष पेरेजले भाल्डेवेवासमा रोनाल्डोले घरेलु मैदानका रूपमा प्रयोग गर्ने आग्रह गरेका छन् । ‘रोनाल्डोले प्रशिक्षणका क्रममा घरेलु मैदान सम्झेर प्रशिक्षण गर्न सक्छन्, हामी सबै सुविधा पूरा गर्छौं,’ परेजले भने । सन् २००९ देखि २०१८ सम्म म्याड्रिडमा रहँदा रोनाल्डोले कीर्तिमानी रूपमा चार सय ५० गोल गरेका थिए ।
यस अवधिमा म्याड्रिडले चारपटक युरोपियन च्याम्पियन्स लिग र दुईपटक ला लिगा उपाधि जित्न सफल भएको थियो । त्यसपछि रोनाल्डो सिरी ए क्लब युभेन्टस्मा अनुबन्ध भए । इटालियन क्लबमा रहँदा रोनाल्डोले च्याम्पियन्स लिग उपाधि जित्ने सपना पूरा गर्न सकेनन् ।
म्याड्रिडका अध्यक्ष पेरेजले रोनाल्डोले क्लबका कुनै पनि खेलाडीसँग प्रशिक्षण नगरेको बताएका छन् । ‘अहिले क्लबमा आबद्ध खेलाडीसँग रोनाल्डोले प्रशिक्षण गर्नेछैनन्, उनले अलग मैदानमा प्रशिक्षण गरिरहेका छन्,’ पेरेजले भने । म्याड्रिडमा रहँदा रोनाल्डोले कहिल्यै पनि विवाद नगरेको उनको भनाइ छ । ‘एक दशक म्याड्रिडमा रहँदा रोनाल्डोले कहिल्यै पनि विवाद गरेनन्, क्लबमा उनी एक उदाहरणीय खेलाडीका रूपमा रहेका छन्,’ उनले भने, ‘मलाई सम्झना छ, कीर्तिमानी रूपमा विश्वकै उत्कृष्ट खेलाडीलाई म्याड्रिडमा भित्र्याउन सफल भएका थियौँ ।’