फ्रान्स चौथोपटक फाइनलमा

कतार विश्वकपमा सनसनीपूर्ण नतिजा निकालेको मोरक्को सेमिफाइनलमा साबिक विजेता फ्रान्ससँग २–० ले पराजित

शुक्रबार, १ पुष, २०७९
डिजिटल संस्करण

मोरक्कोको सपना समाप्त पार्दै साबिक विजेता फ्रान्स कतार फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । दोहास्थित अल बायत मैदानमा बिहीबार बिहान मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स चौथोपटक फाइनलमा पुगेको हो । अब उपाधिका लागि आइतबार फ्रान्सले अर्जेन्टिनाको सामना गर्नेछ ।

मंगलबार राति अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पछि पार्दै फाइनल स्थान बनाएको थियो । अब मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियाको सामना गर्नेछ । मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । 

फ्रान्सलाई लगातार दोस्रोपटक अन्तिम दुई स्थानमा पुर्‍याउने क्रममा थिओ हर्नान्डेज र रान्दाल कोलो मुआनीले एक–एक गोल गरेका थिए । चालू विश्वकपमा मोरक्कोले फ्रान्ससँगै मात्र गोल बेहोर्‍यो । यसअघि समूह चरणदेखि क्वार्टरफाइनल खेलसम्म मोरक्कोको पोस्टमा कुनै पनि टोलीका खेलाडीले गोल गर्न सकेका थिएनन् । समूह चरणमा क्यानडासँगको खेलमा मोरक्कोका खेलाडीले नै आत्मघाती गोल गरेका थिए । 

 खेलको पाँचौँ मिनेटमै मोरक्को पछाडि
प्रतियोगितामा कडा डिफेन्स रणनीति अपनाएको मोरक्कोविरुद्ध फ्रान्स सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भयो । यही तेज आक्रामक रणनीतिको सहयोगमै फ्रान्सले मोरक्कोको पोस्टमा दुई गोल गर्न सफल भयो । ऐतिहासिक रूपमा सेमिफाइनल खेलिरहेको मोरक्को खेलमा सम्हालिन नपाउँदै पाँचौँ मिनेटमै १–० ले पछि पर्‍यो ।

फ्रान्सका हर्नान्डेजले ६ यार्ड बक्सबाटै ‘एक्रोब्याटिक’ गोल गर्दै मोरक्कोको जबरजस्त रक्षापंक्ति तोड्न सफल भए । पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार केलियन एम्बाप्पेको प्रहार मोरक्कोका रक्षक जवाद अल यामिकले रोकेका थिए । गोलरक्षक यामिकबाट रिबाउन्ड भएको बलमै हर्नान्डेजले गोल गरेका हुन् । 

प्रतियोगितामै पहिलोपटक विपक्षी खेलाडीले गोल गरे पनि मोरक्को दबाबमा आएन । उल्टै मोरक्कोले हर्नान्डेजको गोलपछि फ्रान्सको पोस्टमा आक्रमण ग¥यो । मोरक्कोले केही राम्रो अवसरसमेत बनाएको थियो । तर, फ्रान्सका गोलरक्षक हुगो लोरिसले मोरक्कोको गोल गर्ने प्रयासलाई विफल पारे । औनाहीको सटिक प्रहारलाई गोलरक्षक लोरिसले बचाए । उत्कृष्ट फर्ममा रहेका केलियन एम्बाप्पे र ओलिभर जिरुडले मोरक्कोविरुद्ध प्राप्त मौकाको सदुपयोग गर्न सकेनन् ।

जिरुडले कतार विश्वकपमा एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेसीको पाँच गोल बराबर गर्ने अवसर चुकाए । मेसी र एम्बाप्पेले चालू विश्वकपमा समान पाँच गोल गरेका छन् । जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजले समान चार गोल गरेका छन् । जिरुडको पहिलो प्रहार पोस्टमा लागेको थियो । दोस्रो प्रहार गोलरक्षक यासिन बोउनाउले उत्कृष्ट बचाउ गरे ।

 मैदानभित्र प्रवेश गरेको ४४ सेकेन्डमै गोल
दोस्रो हाफमा मोरक्कोका डिफेन्डर अल यामिकको उत्कृष्ट ‘बाइसाइकल किक’ पोस्टमा लागेको थियो । वैकल्पिक खेलाडी रोन्दालले केलिएन एबाप्पेको पास सदुपयोग गर्दै बक्सभित्रबाट ७९औँ मिनेटमा फ्रान्सलाई २–० को अग्रता दिलाए । 

फ्राङ्कफर्टका रोन्दालले मैदान प्रवेश गरेको ४४ सेकेन्डमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा क्रोएसियालाई हराउँदै फ्रान्स दोस्रोपटक च्याम्पियन भएको थियो । विश्वकपको पहिलो संस्करण सन् १९३० बाट सहभागिता जनाउँदै आएको फ्रान्स सन् १९९८ मा पहिलोपटक विश्व च्याम्पियन भएको थियो । यसैगरी, फ्रान्स सन् २००६ मा उपविजेता भएको थियो । सन् १९८६ मा तेस्रो र सन् १९८२ मा चौथो स्थानमा रह्यो ।

उपाधि उचाल्न एक खेल टाढा : डेस्चाम्प्स
फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेस्चाम्प्सले खेल निकै महत्वपूर्ण रहेको र उपाधिका लागि एक खेल टाढा रहेको बताए । ‘हामी कतारमा सँगै रहेको एक महिना भयो । यो कहिल्यै सहज थिएन,’ सन् १९९८ मा कप्तानीमा फ्रान्सलाई उपाधि दिलाएका डेस्चाम्प्सले भने, ‘हामीलाई यो खेल निकै महत्वपूर्ण थियो । अब हामी उपाधि उचाल्न एक खेल टाढा छौँ ।’ 

यसैगरी, फ्रान्सका कप्तान तथा गोलरक्षक लोरिसले मध्यान्तरपछि मोरक्कोविरुद्ध विशेष रहेको बताएका छन् । फ्रान्स लगातार दोस्रोपटक फाइनलमा पुग्दा सबै खेलाडीले शतप्रतिशत मिहिनेत गरेको उनको भनाइ छ । ‘हामी फेरि फाइनलमा पुगेका छौँ । यो नै अद्भूत अनुभव हो,’ लोरिसले भने, ‘हामीले खेल जित्न निकै मिहिनेत ग¥यौँ, विशेषगरी मेरो नजरमा दोस्रो हाफ उत्कृष्ट थियो ।’ लोरिसले अफ्रिकन टोली पनि जितको हकदार भएको जनाए । ‘विश्वकप उपाधिका लागि मोरक्को पनि हकदार थियो,’ मोरक्कोको प्रशंसा गर्दै लोरिसले भने, ‘मोरक्कोले यहाँसम्मको यात्रामा उत्कृष्ट प्रदर्शन गरेको छ ।’ 

 हामीले सबै प्रयास गर्‍यौँ  : रेग्रागुई
कतार विश्वकपमा इतिहास कोरेको मोरक्कोले फाइनल स्थान बनाउन सबै प्रयास गरेको प्रशिक्षक रेग्रागुईले बताएका छन् । ‘फ्रान्सलाई रोक्न हामीले धेरै प्रयास गर्‍यौँ, यसमा असफल भयौँ ।’ फ्रान्ससँग खेलमा खेलाडीले जितकै लागि प्रयास गरेको उनले बताए । ‘टोलीमा विभिन्न समस्या भए पनि मोरक्कोले इतिहास रच्यो,’ उनले भने, ‘मेरा खेलाडीले प्रतियोगितामा असाध्यै राम्रो अनुहार प्रदर्शन गरेका छन् । खेलाडीले अफ्रिकन शक्तिको प्रदर्शन गरे ।’ 

विश्वकपको इतिहासमा मोरक्कोले बनाएको रेकर्ड सबैले सम्झिरहने प्रशिक्षक रेग्रागुईले बताए । ‘विश्वकपको इतिहास लेखनमा मोरक्कोको नाम पनि थपेको छ,’ उनले भने, ‘विश्वकप उपाधि कुनै जादूले जित्ने होइन, यसमा टिमवर्कको भावना हुनुपर्छ, हामी टिम भावनाका साथ प्रतिस्पर्धा गर्‍यौँ ।’ यसैबीच, इंग्ल्यान्डका पूर्वकप्तान एलानले मोरक्कोले कतार विश्वकपमा प्राप्त सफलतामा गर्व गर्नुपर्ने जनाएका छन् । ‘मोरक्कोले आफूलाई सम्मान र गर्व गर्नुपर्छ,’ एलानले भने, ‘आज मात्र होइन, पछिसम्मै उनीहरूको नाम सम्झिरहनेछ ।’ 

See More On

सुझावित समाचार