सुन्धारा पुनर्निर्माणमा ठेकेदार कम्पनीले गरिरहेको कामप्रति महानगरको चित्त नबुझ्नुको कारण के हो ?
ठेकेदार कम्पनीले पुनर्निर्माणका नाममा जथाभावी पुराना संरचना भत्काउन लागेको छ । त्यो गलत हो । पुरातात्विक महत्वका संरचनामा गरिने पुनर्निर्माणमा हामी जहिल्यै र जहाँ पनि सचेत हुनुपर्छ । सुन्धारा पनि पुरानो र महत्वपूर्ण संरचना हो । पुनर्निर्माण गर्दा यो संरचना पहिले जस्तो थियो, त्यस्तै बनाउनुपर्छ । तर, अहिले ठेकेदार कम्पनीले पुरानो संरचनाको स्वरूप बिगार्न लागेको हुनाले महानगरको चित्त नबुझेको हो ।
यसअघि पुनर्निर्माण सुरु हुँदा महानगर र ठेकेदार कम्पनीबीच समन्वय भएको थिएन र ?
पक्कै पनि महानगर र ठेकेदार कम्पनीबीच समन्वय नभएरै यस्तो समस्या देखिएको हो । धरहराको नयाँ संरचना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत बनको हो । सुन्धारा पनि सोही योजनामा समेटिएको रहेछ । ठेकेदार कम्पनीले जानेर वा नजानेर पुनर्निर्माणको क्रममा गल्ती गरेको छ ।
धरहरा र सुन्धारा निर्माणको बाँकी काम अब कसरी अघि बढ्छ त ?
सुन्धाराको मौलिकता कायमै रहने गरी बाँकी काम सम्पन्न गर्नुको विकल्प छैन । ठेकेदार कम्पनीले स्थानीयको माग र पुरातत्व ऐनअनुसार काम गर्नुपर्छ । त्यो पुरानो सम्पदालाई पुरानै संरचनामा संरक्षण गरिनुपर्छ । पुर्खाले त्यति राम्रो बनाएर हामीलाई छाडेर गएको संरचना जथाभावी भत्काउनुु हुँदैन । ठेकेदार कम्पनीले सुन्धाराको पानीको निकास प्रणाली पनि बिगारेको छ । त्यसलाई पनि बिगार्न पाइँदैन ।