स्प्रेडदरमा लचक बन्यो राष्ट्र बैंक

बैंकहरूले स्प्रेडदर ४.२ प्रतिशतसम्म राख्न पाउने, चार प्रतिशतको व्यवस्था आगामी असारदेखि मात्रै लागू हुने

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अन्तरबैंक ब्याजदर (स्प्रेडदर) सम्बन्धमा नीतिमा नेपाल राष्ट्र बैंक केही लचक भएको छ । केन्द्रीय बैंकले समीक्षाका समयमा स्प्रेडदरको सीमा चार प्रतिशतमा झार्ने नीति लिएको थियो । तर, यो व्यवस्था आगामी असारदेखि मात्रै कार्यान्वयन गर्दा हुने भएको छ । मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बुधबार राष्ट्र बैंकले ल्याएको निर्देशिकाअनुसार चैतदेखि वाणिज्य बैंकहरूले औसत ब्याजदर अन्तर (स्प्रेडदर) ४.२ प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

हाल ४.४ प्रतिशतसम्म कायम राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै चैतदेखि ४.२ प्रतिशत र असारदेखि ४ प्रतिशत कायम राख्ने व्यवस्था गरिएको हो । मौद्रिक नीतिको त्रैमासिक समीक्षापछिको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले स्प्रेडदरमा कटौती गरेर निजी क्षेत्रलाई थोरै भए पनि राहत दिन खोजिएको बताएका थिए । 

यद्यपि, गत असोज मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत स्प्रेडदर ४.०३ प्रतिशतमा सीमित छ । तथ्यांकअनुसार तीन बैंकको मात्रै स्प्रेडदर ४.२ प्रतिशतभन्दा बढी देखिन्छ । राष्ट्र बैंकले स्प्रेडदरमा कडाइ गरेर निजी क्षेत्रलाई राहत दिन खोजेको दाबी गरे पनि बैंकहरूको आँकडाअनुसार यो व्यवस्थाले बैंकहरूको स्प्रेडदरमा खासै फरक नपर्ने देखिन्छ । त्रैमासिक समीक्षामा भनिएअनुसार तत्काल स्प्रेडदर चार प्रतिशत लागू भएको खण्डमा झन्डै एक दर्जन बैंकहरू दबाबमा पर्ने सम्भावना रहन्थ्यो । राष्ट्र बैंकले चैतबाट लागू हुने गरी विकास बैंक तथा वित्त कम्पनीहरूको स्प्रेडदर ४.८ प्रतिशत र असारदेखि ४.६ प्रतिशत कायम गर्नुपर्ने भनेको छ । 

राष्ट्र बैंकले ब्याजदर घटाउन स्प्रेडदरको सीमा घटाए पनि त्यो प्रभावकारी नहुने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए । उनले भने, ‘तरलता सहज हुँदै गएपछि ब्याजदर घट्छ भनिएको थियो । त्यसो भएको छैन । स्प्रेडदरको सीमा घटाइदिए पनि ब्याजदरमा खासै असर पर्ने देखिँदैन ।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले कायम गरेको व्यवस्थाले माग सम्बोधन नगरेको बताए । उनले भने, ‘अहिले बजारमा मन्दी आइरहेको समयमा ब्याजदरमा राहत खोजेका हौँ । ऋणको १५–१६ प्रतिशत ब्याज तिरेर व्यवसाय गर्न सक्ने अवस्था छैन ।’ 

 न्यूनतम कर्जामा सहुलियत
वाणिज्य बैंकलाई तोकिएको क्षेत्रमा गर्नुपर्ने न्यूनतम कर्जा प्रवाहमा नेपाल राष्ट्र बैंकले सहुलियत प्रदान गरेको छ । ०८२ असारसम्म कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भनी तोकिएको कर्जा अब ०८३ असार मसान्तसम्म गर्न पाइने भएको छ । ०८० को असार मसान्तसम्म ११ प्रतिशत, ०८१ को असार मसान्त  ०८१ सम्म १३ प्रतिशत, ०८२ असार मसान्तसम्म १४ प्रतिशत र ०८३ को असार मसान्तसम्म १५ प्रतिशत पुर्याए हुने भएको छ । ऊर्जा क्षेत्रमा तोकिएको न्यूनतम १० प्रतिशत कर्जाको समयावधिसमेत एक वर्ष थपिएको छ । जसअनुसार ०८३ को असार मसान्तसम्म लक्ष्य भेटाउनुपर्नेछ । यसअघि असार मसान्त ०८२ सम्म भेटाउनुपर्ने गरी तोकिएको थियो । 

 पुसमा ब्याजदर यथावत् 
पुसमा निक्षेपको ब्याजदर यथावत् नै राख्ने बैंकरहरूले सहमति गरेका छन् । नेपाल बैंकर्स संघको बैठकले पुसमा ब्याजदर यथावत् राख्ने सहमति गरेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय बैंकिङ प्रणालीमा केही सहज देखिएसँगै ब्याजदर घटाउन सकिन्छ कि भनेर छलफल भएको थियो । तर, हालको अवस्थामा सबैले यथावत् नै राख्न सहमत भयौँ ।’ बैंकहरूले मंसिरकै ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएका हुन् । हाल मुद्दतीको ब्याजदर १२.१३३ प्रतिशत छ भने बचतको ब्याजदर ७.१३३ प्रतिशत छ ।

सुझावित समाचार