कांग्रेसका केन्द्रीय सदस्य रहेका राजीवविक्रम शाहले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।
शाहले सामाजिक सञ्जाल फेसबुकमा आफू मुख्यमन्त्रीको दाबीसहित कर्णाली प्रदेश सभामा संसदीय दलको नेताका लागि मैदानमा उत्रिने बताएका हुन्।
मुख्यमन्त्री बन्नका लागि संघीय संसद् छाडेर जाजरकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा कांग्रेसका उम्मेदवार शाह कर्णाली प्रदेश सभा सदस्यमा विजयी भएका थिए।
शाहले आफू मुख्यमन्त्रीको दाबी रहेको मुख्यमन्त्रीबाट बाहिरिएको समाचारमा कुनै सत्यता नभएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।
‘प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो। त्यसो भएर म यसपटक नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा संसदीय दलको नेताको रूपमा मैदानमा उत्रने तयारीमा छु।’ उनले भनेका छन्, ‘कुनै पनि हल्लाको नलाग्न र शंका नगर्न हुन सविनय अनुरोध गर्दछु।’
कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही र शाहले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्। शाही र शाह दुवै नेता नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरू हुन्।