१२ करोडकाे लगानीमा पर्यटकीय नगरी पोखराको प्रमुख पर्यटकीय स्थल लेकसाइडमा होटेल तथा लाउन्ज सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित हल्लनचोकमा पोखराको ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रा. लि.होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
‘चिल्ली ग्रुप’ले विगत १५ वर्षदेखि विभिन्न पर्यटकीय क्षेत्रमा लगानी गर्दै आएको छ । सन् २०१८ को अगस्टदेखि निर्माण सुरु गरिएको होटेल तथा लाउन्जको सुरुवाती लागत १० करोड अनुमान गरिएकोमा कोरोनाका कारण निर्माणको समय लम्बिँदा लगानी बढेर १२ करोड पुगेको सञ्चालकहरूको भनाइ छ ।
विभिन्न सुविधासहित सञ्चालनमा आएको होटेलमा वातानुकूलित बाल्कोनीसहित १५ कोठा रहेका छन् । माथिल्लो दुई तलामा बनेको रेस्टुरेन्ट ‘स्काई गार्डेन’को अवधारणाअनुरूप बनाइएको प्रालिका निर्देशक भीष्मराज पौडेलले जानकारी दिए । होटेलमा चाइनिज, कन्टिनेन्टल, थाई, इन्डियन, नेपाली खाना तथा बजारमा उपलब्ध सबै किसिमका पेय पदार्थ कक्टेल, मक्टेलका परिकारहरू पाइने पौडेलले बताए ।
एक सय ६५ सिट क्षमता रहेको रेस्टुरेन्टमा ४० जना अट्ने सभा–समारोहका लागि हलसमेत रहेको छ । रेस्टुरेन्टमा नेपालीपन झल्कने गरी मझेरी, पलेँटी, भट्टी, भन्ज्याङ, दृश्यहल, काैसी, पानीफोहोरा, पाली, खुल्ला आकाशलगायत फरक–फरक कक्षहरू निर्माण गरिएको रेस्टुरेन्टमा स्वदेश तथा विदेशमा काम गरी अनुभव हासिल गरेका दक्ष कर्मचारी कार्यरत छन् ।
आधुनिक लिफ्टसहितको होटेलको भवनबाट फेवाताल, सराङकोट, शान्ति स्तुपा, पुम्दीकोट, हिमालय शृंखला, वरिपरिका वनजंगललगायतको दृश्यावलोकन गर्न सकिन्छ । हरेक हप्ताको तीन दिन ‘सोलो आर्टिष्ट’को सांगीतिक प्रस्तुति रहने रेस्टुरेन्टपरिसरमा हरियाली र बगैँचा निर्माण गरिएको छ ।
होटेलका कोठाको सजावटमा रहेका अधिकांश सामग्री ढाकाको कपडा, थान्का, नेपाली पेन्टिङ प्रयोग गरिएको प्रालिका अर्का निर्देशक विश्वराज पौडेलले जानकारी दिए ।