घुस प्रकरणले युरोप तरंगित

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

युरोपेली संसद्की उपाध्यक्ष नै भ्रष्टाचारमा मुछिएको पाइएपछि पारदर्शिता र सदाचारिताको वकालत गर्ने युरोपेली संघका साथै युरोप नै तरंगित भएको छ । 

बेल्जियमका एक न्यायाधीशले युरोपेली संसद्का निर्णय प्रभावित गर्ने गरी चार व्यक्तिले एउटा खाडी मुलुकबाट घुस (पैसा र उपहार) लिएको आरोप लगाएका छन् । 

यो प्रकरण बाहिरिएपछि केहीले युरोपेली संघको विश्वसनीयतामै प्रश्न उठेको चिन्ता व्यक्त गरेका छन् । घटनाको अनुसन्धानका क्रममा शुक्रबार अनुसन्धानकर्ताले ब्रसेल्स सहरका १६ घरको खानतलासी गरेका थिए, जसमा ६ लाख युरो (६ लाख ३१ हजार डलर) भेटिएको थियो ।

सुरुमा ६ जना पक्राउ परेकोमा, दुईजना रिहा गरिएका थिए भने चारजनालाई मुद्दा चलाइएको आइतबार अभियोजक (प्रोसेक्युटर)ले एक वक्तव्यमा भनेका छन् । आरोप लागेका सबै व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । 

अभियोजकले ब्रसेल्सका निर्णय प्रभावित बनाउने प्रयास गरिरहेको विषयमा महिनौँदेखि एक खाडी मुलुक शंकाको घेरामा रहेको बताएका छन् । कैयौँ मिडियाले शंकामा रहेको खाडी मुलुक कतार भएको लेखेका छन् । 

मिडिया रिपोर्टका बीच कतारी अधिकारीले भने, ‘आफ्नो मुलुकलाई गलत हर्कतसँग जोड्ने कुनै पनि प्रयासको पूर्ण खण्डन गर्ने,’ बताएका छन् । 

आइतबार कतारी अधिकारीले अल–जजिरालाई पठाएको खण्डन पत्रमा भनिएको छ– ‘मिडियामा आएका दाबीमा कतारी सरकारलाई जसरी पनि जोड्ने प्रयास भएको छ, त्यो आधारहीन र पूर्णतः गलत जानकारीमा आधारित छ । कतार संस्थान–संस्थानबीचको अन्तर्क्रियामार्फत काम गर्ने गर्छ, जुन अन्तर्राष्ट्रिय नियम–कानुनअनुरूप सञ्चालित हुन्छ ।’
 
‘अत्यन्त चिन्ताजनक’
युरोपेली संघका विदेश मामिला प्रमुख जोसेफ बोरेलले पछिल्लो खुलासा ‘अत्यन्त चिन्ताजनक’ भएको बताएका छन् । बोरेलले अनुसन्धानमा युरोपेली संघको कूटनीति सेवाका कोही पनि संलग्न नरहेको पनि बताए । 

युरोपेली संसद्ले गत सप्ताहन्तमा बेल्जियन अनुसन्धानको परिप्रेक्ष्यमा आफ्ना एक उपाध्यक्ष ग्रिक समाजवादी एभा केइलीको अधिकार र कर्तव्य निलम्बन गरेको बताएको थियो । 

एभा संलग्न ग्रिक समाजवादी पार्टी पासोकले पनि एक वक्तव्य जारी गर्दै उनलाई बर्खास्त गरेको जानकारी दिएको छ । उनी पछिल्लो भ्रष्टाचार प्रकरणकी एक आरोपित भएकोबारे भने खुलाइएको छैन । 

अभियोजकले शनिबार दोस्रो युरोपेली संघका राजनीतिज्ञको घर पनि खोजतलास गरेको बताएका छन् । उक्त खोजतलासबाट कोही पक्राउ भने परेका छैनन् । 

बेल्जियन समाजवादी पार्टी सदस्य मार्क टाराबेलाले खोजतलास भएको घर आफ्नो भएको खुलाउँदै खोजतलासपछि आफ्नो एक कम्प्युटर र मोबाइल फोन जफत गरिएको जानकारी गराएका छन् । 

‘न्याय प्रणालीले सूचना संकलन गरेर अनुसन्धान गरिरहेको छ, जुन सामान्य प्रक्रिया भएको मैले मानेको छु । मैले लुकाउनुपर्ने केही छैन र अनुसन्धानकर्ताले सोधेका सबै प्रश्नको जवाफ दिनेछु,’ टाराबेलाद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

दाउमा विश्वसनीयता
युरोपियन इकोनोमिक कमिस्नर पाओलो गेन्टिलोनीले इटालियन टेलिभिजन ‘राई थ्री’सँग बोल्दै यो मुद्दा ‘निकै गम्भीर’ देखिएको बताए । 

‘यदि कसैले युरोपेली संसद्को धारणा प्रभावित बनाउन पैसा लिएको पुष्टि भयो भने यो पछिल्ला वर्ष भएका भ्रष्टाचारका सबैभन्दा नाटकीय घटनामध्ये एक हुनेछ,’ गेन्टिलोनीले भने । 

आयरल्यान्डका विदेशमन्त्री सिमोन कोभेनीले पनि घुस प्रकरणसम्बन्धी जे–जति समाचार बाहिरिएका छन्, त्यो निकै ‘हानिकारक’ भएको बताए । ‘यो यस्तो काण्ड हो, जसको सांगोपांगो हुने गरी सत्यतथ्य उजागर गरिनुपर्छ, ताकि भविष्यमा यस्तो घटना पुन नदोहोरियोस्,’ कोभेनीले ब्रसेल्समा पत्रकारहरूसँग बोल्दै भने ।

जर्मन विदेशमन्त्री एन्नलेना बेएरबोकले यस प्रकरणले युरोपेली संघको विश्वसनीयता नै दाउमा रहेको बताइन् । 

‘यो अविश्वसनीय घटना हो, जसलाई सम्पूर्ण कानुनको बल लगाएर टुंगोमा पुर्याउनुपर्छ,’ मन्त्री बोइरबोकले युरोपेली सहकर्मीसँग ब्रसेल्सको बैठक प्रवेश गर्नुअघि पत्रकारलाई भनिन्, ‘यो युरोपको विश्वसनीयतासँग जोडिएको छ । त्यसैले यसका प्रभाव अन्य धेरै क्षेत्रमा सिर्जना हुन सक्छ ।’ 

युरोपेली संघले यही साता कुवेत, कतार, ओमन र इक्वेडरलाई दिँदै आएको ‘फ्री भिसा यात्रा’लाई लम्ब्याउने प्रस्तावमा मतदान गर्ने समयतालिका छ । केही विधायकले नयाँ प्रकरण सार्वजनिक भएको सन्दर्भमा यस विषयको बहस र मतदान पछि सार्नुपर्ने सुझाब दिएका छन् । 

सुझावित समाचार