भारतीय सहयोगमा निर्माण हुने तीन परियोजनामा हस्ताक्षर

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ । 

भारतीय राजदूतावास र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच सोमवार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  

उदयपुर जिल्लामा जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बुमा न्गोंगा थेन्चोक छोलिंग ध्यान केन्द्रको निर्माण र धादिङमा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको उद्घाटन भएको हो । 

भारतीय राजदूतताबासका अनुसार यी तीन परियोजनाहरु कूल अनुमानित १० करोड १७ लाख नेपाली रुपैयाँ लागतमा निर्माण हुनेछन् ।

यी परियोजनाहरुको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने भारतीय राजदुताबासको अपेक्षा छ । 

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूअघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

सुझावित समाचार