यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१.४१ प्रतिशत मतदान भएकामा ५.०६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाका अनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार दुई सय २६ अर्थात् ६१.३५ प्रतिशत मतदान भएकोमा ५.०९ प्रतिशत मत बदर भएको छ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय अर्थात् ६१.३६ प्रतिशत मतदान भएकोमा ४.०७ प्रतिशत मत बदर भएको छ।
प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार तीन सय ७६ अर्थात् ६१.३१ प्रतिशत मतदान भएकोमा ६.५५ प्रतिशत मत बदर भएको छ।
प्रदेश सभातर्फ प्रत्यक्षमा मनाङको प्रदेश सभा २ मा निर्विरोध भएकाले सो क्षेत्रको मतगणनामा समावेश नगरिएको आयोगले जनाएको छ। आयोगले समानुपातिकतर्फको विजयीहरूको अन्तिम घोषणा मंगलबार गर्ने जनाएको छ। रासस