केनले लिए हारको जिम्मेवारी

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको इंग्ल्यान्डका कप्तान ह्यारी केनले हारको सबै जिम्मेवारी लिएका छन् । कतार विश्वकपअन्तर्गत आइतबार बिहान इंग्ल्यान्डले अन्तिम क्वार्टरफाइनलमा साबिक विजेता फ्रान्सको सामना गरेको थियो । इंग्ल्यान्ड फ्रान्ससँग २–१ ले पराजित हुँदै सन् १९६६ पछि विश्वकप ट्रफी जित्ने सपना समाप्त भयो । प्रतिस्पर्धामा इंग्ल्यान्डले बराबरी गर्न सुनौलो अवसर प्राप्त गरेको थियो । खेलको ८३औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर प्राप्त गरेको थियो । 

कप्तान केनले पेनाल्टी प्रहार गरेका थिए । उनले प्रहार गरेको बल क्रसबारमाथि गयो । केनको असफल पेनाल्टी प्रहारसँगै इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सबै आशा समाप्त भयो । यसअघि केनले फ्रान्सविरुद्ध १–१ को बराबरी गोल फर्काउँदा पेनाल्टीमै गोल गरेका थिए । इंग्लिस टोलीकै अनुभवी पेनाल्टी प्रहार गर्ने खेलाडी केन दोस्रो पेनाल्टी प्रहारमा नर्भसझैँ देखिएका थिए । 

पेनाल्टी बल बाहिरिँदा स्तब्ध
अल बायत रंगशालाबाट निराश भएका केनले भनेका छन्, ‘आजको रात निकै गाह्रो भयो, मेरै कारण इंग्ल्यान्ड क्वार्टरफानलबाट बाहिरिएको हो ।’ पहिलो बारको टप कर्नर च्यापेर प्रहार गरेको बल अकासिँदा आफैँ स्तब्ध भएको केनले बताएका छन् । ‘म नै स्तब्ध भएँ, त्यो प्रहारसँगै टोली नै क्षतविक्षत भयो, सबैलाई विश्वास थियो, इंग्ल्यान्डले खेल बराबरी गर्छ भनी,’ उनले भने, ‘तर, मैले सबैको आशा निराशामा बदलिदिएँ ।’

प्रतिस्पर्धामा फ्रान्सको तुलनामा इंग्ल्यान्डले गोलको अवसर धेरै सिर्जना गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘खेलको मूल्यांकन गरेको खण्डमा इंग्ल्यान्डले धेरै गोल अवसर निकालेको थियो, खेलमा पनि हामीले नै राम्रो खेलेका थियौँ, तर भनेको जस्तो भएन, कप्तानका रूपमा हारको जिम्मेवारी म नै लिन्छु ।’ इंग्ल्यान्ड छिटै नमिठो हार बिर्सेर अगाडि बढ्ने टोली भएको उनको भनाइ छ । 

रुनीको कीर्तिमान बराबरी
इंग्ल्यान्डका खेलाडी आउँदा दिनमा थप सशक्त भएर निस्किने उनले जनाए । ‘म समूहमा गर्व गर्न सक्छु, हामीले गरेको कामका लागि एकअर्कामा गर्व गर्न सक्छु,’ उनले भने, ‘पक्कै पनि त्यो पेनाल्टीले सबैलाई दुःख दिनेछ, तर भविष्यमा तयार हुन आफैँ उठ्नुपर्छ ।’ फ्रान्सविरुद्ध एक गोल गरेका केनले राष्ट्रिय टोलीमा कीर्तिमान बराबरी गरेका छन् । उनले इंग्लिस खेलाडी वाइन रुनीको नाममा रहेको सर्वाधिक ५३ अन्तर्राष्ट्रिय गोलको रेकर्ड बराबरी गरेका छन् । 

See More On

सुझावित समाचार