नेतृत्वलाई कार्यकर्ताको प्रश्न : देशभर आफ्नो पार्टी परिवार दलबाट उम्मेदवार उठाएर आफू एमालेको समानुपातिक सूचीमा बसेका एकनाथ ढकालको पार्टीमा योगदान के हो ? किन सांसद बनाउनुपर्यो ? सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बाँडिए कार्यकर्ता
विवादास्पद छविका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिक सांसद बनाएपछि पार्टीभित्रैबाट आलोचना भएको छ । शीर्ष नेताहरूले आन्तरिक रूपमा र तल्ला तहका नेता तथा कार्यकर्ताले खुलेरै नेतृत्वको आलोचना गरेका छन् ।
अध्यक्ष केपी ओलीकै रुचिमा ढकाल सांसद सिफारिस भएकाले पार्टीका शीर्ष नेताहरूले खुलेर आलोचना गरेका छैनन् । यद्यपि, उनीहरूले भित्रभित्रै असन्तुष्टि पोखिरहेका छन् । ‘ढकाललाई संसद् प्रवेश नगराउन खस–आर्यबाट एकजना मात्रै पुरुष पठाएर बाँकी नौजना महिला पठाउनुपर्ने हुन्थ्यो । तर, नेतृत्वले जसरी पनि सांसद बनाउने गरी सूचीमा राखेकाले ढकाल पर्नु स्वाभाविक हो,’ एक पदाधिकारीले नयाँ पत्रिकासँग भने । सामूहिक निर्णयमा नचलेका कारण पार्टीमा लामो योगदान भएका नेता नपरेर ढकालहरूले मौका पाएको उनले दुखेसो गरे ।
एमाले पूर्वउपाध्यक्ष भीम रावलले जापान सरकारको समेत छानबिनमा परेको होली वाइनको झोली भर्ने तरिका भन्दै असन्तुष्टि राखेका छन् । उनले एउटा दलको अध्यक्ष र अर्को दलको समानुपातिक प्रणालीबाट सांसद बन्नुलाई राजनीतिमा नैतिकताको खडेरी भनी टिप्पणी गरेका छन् । ‘अमेरिकामा कर छलीको आरोपमा दुई वर्ष र कोरियामा जासुसीको आरोपमा तीन वर्ष काराबासको सजाय भोगेका सन मुनद्वारा स्थापित विवादास्पद युनिफिकेसन चर्च आबद्ध होलीवाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ । परिवारले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्को दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ, ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ,’ रावलले ट्विटमा भनेका छन् ।
एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ प्राप्त ३४ जनामा ढकाल पनि अटाएका हुन् । बन्दसूचीमा ढकालको नाम खस–आर्य क्लस्टरबाट दोस्रो नम्बरमा थियो । गत वर्ष भएको परिवार दलको तेस्रो महाधिवेशनबाट तेस्रो कार्यकालका लागि ढकाल निर्वाचित भएका थिए । यसअघि उनी परिवार दलबाट संविधानसभा सदस्य भएका थिए ।
ढकालले स्थापना गरेको युनिभर्सल पिस फेडेरेसनले सन् २०१८ मा आयोजना गरेको एसिया प्यासिफिक समिटमा ओली नेतृत्वको सरकारले राज्य कोषबाट चार करोड रुपैयाँ खर्च गरेको थियो । सो सम्मेलनका क्रममा विदेशबाट आएका विशिष्ट अतिथिहरूलाई स्वागत र भेटवार्ताका लागि भन्दै ओलीले कूटनीतिक मर्यादाविपरीत हायात होटेलमै चार दिन बिताएको भन्दै आलोचना भएको थियो । सो क्रममा आफूलाई जिसस क्राइसकी छोरी बताउने दक्षिण कोरियाली धर्मगुरु हाक जा हान मुनले ओलीलाई एक लाख डलर राशिको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेकी थिइन् । सम्मेलनमा अतिथिलाई पिलाइएको ‘होली वाइन’ आलोचित भएको थियो ।

ढकालले भने पाँच वर्षदेखि एमालेसँग सहकार्य गरेको र समानुपातिकबाट निर्वाचित गराउनकै लागि बन्दसूचीमा प्राथमिकतामा राखेको बताएका छन् । उनले आफ्नो पार्टीको मत सूर्यलाई दिएको र एमालेले पनि आफूलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘अहिले मात्र होइन, अघिल्लो निर्वाचनमा पनि हाम्रा नेता तथा कार्यकर्ता र शुभेच्छुकले सूर्य चिह्नमा मतदान गर्नुभएको हो । तर, त्यतिवेला समानुपातिकबाट निर्वाचित हुन सकिनँ । यसपटक एमाले नेतृत्वले मूल्यांकन गरेरै समानुपातिकमा निर्वाचित हुने गरी बन्दसूचीमा राख्यो ।’ ढकालले कांग्रेसको भोटले माओवादी र माओवादीको भोटले कांग्रेसका सांसद बन्न हुने अनि एमाले र परिवार दलको भोटले सांसद बन्न नहुने भन्दै विरोधको कुनै तुक नभएको बताए । ‘राजनीतिमा समर्थन र विरोध हुन्छ । नेपालमा मात्र होइन, विदेशमा पनि राजनीतिक दलहरूबीच सहकार्य हुन्छ । एमालेसँगको हाम्रो सहकार्य पाँच वर्षदेखिको हो । यसपटक एमाले नेतृत्वले मूल्यांकन गरेर समानुपातिकमा निर्वाचित हुने गरी बन्दसूचीमा राख्यो । हामीले पनि सकेको योगदान गरेका छौँ,’ उनले भने ।
एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सहमतिमै ढकाललाई सांसद बनाउन समानुपातिकको बन्दसूचीमा राखिएको बताए । ‘ढकाललाई सांसद बनाउनकै लागि बन्दसूचीमा राखिएको हो । यो पहिले नै तय भएको विषय हो,’ उनले नयाँ पत्रिकासँग भने ।
गोरखाको बुर्लाङमा मध्यम वर्गीय परिवारमा जन्मेका ढकाल अहिले विश्वका थुप्रै देशमा सञ्जाल भएको युनिफिकेसन चर्चका अगुवामा पर्छन् । नेपालमा यो संस्था भित्र्याउने उनै हुन् । उनले नेपालका थुप्रै नेतालाई गुड गभर्नेन्स अवार्ड दिलाएका छन् भने थुप्रै नेतालाई पिस एम्बेसडर बनाएका छन् ।
भीम रावलको सार्वजनिक प्रश्न

अमेरिकामा कर छलीको आरोपमा दुई वर्ष र कोरियामा जासुसीको आरोपमा तीन वर्ष काराबासको सजाय भोगेका सन मुनद्वारा स्थापित विवादास्पद युनिफिकेसन चर्च आबद्ध होलीवाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ । परिवारले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्को दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य, क्या चमत्कार ! राजनीतिमा नैतिकताको खडेरी ! स्मरणीय छ, ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ । — ट्विटरमा
नेतालाई कार्यकर्ता र शुभेच्छुकका प्रश्नैप्रश्न
एमालेका तल्लो तहका कार्यकर्ता र शुभेच्छुकले भने सामाजिक सञ्जालमै खुलेर आलोचना गरेका छन् । प्रदीप भट्टराईले फेसबुकमा लेखेका छन्, ‘रोल्पामा बसेर गर्दनमा खुकुरी राखी एमाले जोगाएका कुमार दसौदी सौताको छोरा हुने अनि कुनै योगदान नभएका एकनाथ ढकाल आफ्नो छोरा हुने ? के एमाले नेताले विवेक पुर्याएकै हुन् र ? नेतृत्व जवाफ देऊ ।’
ढकाललाई सांसद बनाएकोमा आलोचनाका ट्विट ट्याग भएपछि पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले लेखेका छन्, ‘म एमालेको दृढ समर्थक हो र जबजको पनि । तर, अधिकारी होइन । तसर्थ एमालेले लिने आधिकारिक निर्णयमा मलाई जोडेर मेन्सन नगर्न सबै ट्विटे र फेसबुकेलाई आग्रह छ । अवश्य पनि मेरो पनि मत होलान् । तर, म मलाई उपलब्ध संस्थागत ठाउँमै कुरा राख्छु है । यो मेरो कमजोरी होइन, तर अराजकता मन पराउन्न ।’
बाँस्कोटाको ट्विटमा रिट्विट गर्दै कृष्ण अन्शुकले प्रश्न गरेका छन्, ‘एकनाथ ढकाललाई समानुपातिकतर्फ लैजानु एमालेका आमकार्यकर्ताको उपहास हो । उनी को हुन् र किन सांसद बनाइयो ? यसको चित्तोबुझ्दो जवाफ आमएमालेका कार्यकर्ता र मतदान गर्ने नागरिकलाई नेतृत्वले अनिवार्य स्पष्टीकरण दिनुपर्नेछ । जनमतको अवमूल्यनको खबरदारी गरौँ ।’ बाँस्कोटाले जवाफ फर्काउँदै भनेका छन्, ‘एकनाथको योगदान मलाई थाहा छैन । र, म चिन्दिनँ पनि । तर, समानुपातिक सिस्टम होइन, नेताहरूको तजबिज रहेछ त्यो पक्का हो, अब था भो ।’
शैलेन्द्र ढकालले प्रश्न गरेका छन्, ‘एकनाथ ढकाललाई समानुपातिक सांसद बनाउनैपर्ने एमालेलाई के त्यो आइलाग्यो ? कृपया अध्यक्षज्यूलाई सोध्नुस् है ?’
टीकाराम आचार्यले सुझाव दिएका छन्, ‘एकनाथजस्तो कुपात्रको कारण एमालेको पाँच–सात लाख मत घटेको छ । अझै पनि मत दुरुपयोग हुन्छ भन्ने लागेको भए त्यतिखेरै फरक किसिमले सोचिन्थ्यो होला कमरेड, यो कुरा जस्ताको तस्तै सुनाइदिनुहोला है ।’
रमा वलीले भनेकी छिन्, ‘तपाईंहरूले पनि आफूले नपाएपछि मात्र हो गलत लागेको । देश त लुटेर खाएकै त हो ।’
बाँस्कोटाको ट्विटमा अधिकांशले ढकालको विरोध गरेका छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘पेनाल्टीमा पनि गोल गर्न नसक्ने खेलाडी र गठबन्धनका वेला पनि चुनाव जित्न नसक्ने नेता उस्तै–उस्तै लाग्छ’ भन्दै ट्विट गरेका छन् । बाँस्कोटाले रिट्विट गर्दै भनेका छन्, ‘खाली पोस्टमा गोल गर्ने नेताले समानुपातिकमा पनि गोल गर्छन् नि !’ रिजालले जवाफ दिएका छन्, ‘हामीजस्ता दर्शकको काम हेर्ने त रहेछ !’