\'समानुपातिकमा सिफारिस सांसदकाे नाम समावेशी समूहबमोजिम सच्याउनू\'

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले समानुपातिकमा सिफारिस सांसदहरूकाे नामावली समावेशी समूहबमोजिम सच्याउन निर्देशन दिएकाे छ।

आयाेगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर २४ घण्टाकाे समयसीमासहित आज पत्राचार गरेको हाे। ती दलहरूले यही मंसिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची आयाेगमा बुझाउनुपर्नेछ।

प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मंसिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नामावली सिफारिस गरेका थिए। 

पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ।

नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। 

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मंसिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो।

सुझावित समाचार