देशले साझा सहमतिको बिन्दु खोजेको छ : अध्यक्ष नेपाल

शनिबार, २४ मंसिर, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको बिन्दु खोजेको बताएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा आयोजित कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको बिन्दु खोजेको बताए।

जनताले निर्वाचित गरेका नेताहरूले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने औँल्याउँदै उनले भने, ‘हामी आफ्ना–आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ। जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ।’

चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरूको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्ने बताए। जनताले मन पराएका छैनन् भने नेताहरूले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने उल्लेख गरे। 

उनले भने, ‘आश्वासन दिँदा त्यहाँ ठाउँ राख्नुपर्छ, जनताका सबै माग पूरा गर्न सकिँदैन, सक्दो कोसिस गर्नुपर्ने हुन्छ।’ अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र संकटतर्फ बढेको भन्दै यसलाई कसरी सुधार्ने भनेर समीक्षा गर्नु आवश्यक रहेको बताए। राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए। रासस

सुझावित समाचार