पांमा कपको उपाधि खाँदबारी युथ क्लबलाई

शनिबार, २४ मंसिर, २०७९
डिजिटल संस्करण

पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–४ गैरीपांमास्थित भगिवन्त रंगशालामा सञ्चालित छैटाैँ पांमा कप फुटबल प्रतियोगिताको उपाधि खाँदबारी युथ क्लबले जितेको छ।

शुक्रबार भएको फाइनलमा तल्लो पांमा फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै खाँदबारी युथ क्लबले उपाधि जितेको हो। निर्धारित समयमा दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि टाइब्रेकरमा खाँदबारी युथ क्लबले जित हासिल गरेको हो।

प्रतियोगिताको तेस्रो र चौथो स्थानमा क्रमशः तीनपोखरी फुटबल क्लब र पांमा सामुदायिक क्लब आएका छन्। प्रतियोगिताका विजेताले एक लाख ५१ हजारसहित ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। उपविजेताले ८१ हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वनास्वरूप तेस्रो र चौथो हुने दुई टिमले ३१-३१ हजार रुपैयाँ, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडी खाँदबारी युथ क्लबका मिसन लिम्बू घोषित भए भने सर्वाधिक गोलकर्ता तल्लो पांमाका उत्सव राई बने। त्यसैगरी, उत्कृष्ट गोलरक्षक खाँदबारी युथ क्लबका प्रतिजा गच्छदार बने। सबैलाई जनही ५ हजार १ सय रुपैयाँ, ट्रर्फी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। विजेताहरूलाई प्रदेश सभा (क)बाट नवनिर्वाचित राजेन्द्र कार्कीले पुरस्कार वितरण गरेका थिए।

किराँत समुदायको महान चाड उद्यौली पर्व धान्यपूर्णिमाको अवसरमा बर्सेनि प्रतियोगिता सञ्चालन गर्दै आएको आयोजक लोहोरुङ क्लबका अध्यक्ष राजु राईले बताए।

सुझावित समाचार