पुलमा रहेको विज्ञापनबाट मात्रै महानगरले कमाउँछ वार्षिक २२ लाख, रत्नपार्क, सुन्धारा, जमल क्षेत्रका ६ वटा अकासे पुल तत्काल मर्मत गर्नुपर्ने
काठमाडौंका सडकमा पर्याप्त अकासे पुल नहुँदा पैदलयात्री जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन् । तीव्र गतिमा हुइँकिरहेका सवारीसाधन छल्दै सडक पार गर्नु सर्वसाधारणको दैनिकी जस्तै बनेको छ ।
केही स्थानमा भएका अकासे पुल पनि नियमित प्राविधिक जाँच नहुँदा सर्वसाधारण सशंकित हुने गरेका छन् । त्यसमाथि पुलको सरसफाइ नहुँदा दुर्गन्धले हिँड्नै नसक्ने यात्रुहरू बताउँछन् । काठमाडौंका अधिकांश अकासे पुलको निर्माण भएदेखि नै प्राविधिक जाँच भएको छैन ।
प्राविधिकका अनुसार सामान्यतया सर्वसाधारणको चाप हुने क्षेत्रका अकासे पुल हरेक वर्ष मर्मत गर्नुपर्छ । तर, महानगरभित्र रहेका वर्षौँ पुराना अकासे पुलको समेत प्राविधिक जाँच हुन सकेको छैन । जसका कारण अकासे पुल चढ्नसमेत जोखिम छ । एक वर्षअघि मात्रै गोंगबुमा रहेको जीर्ण अकासे पुलबाट सडक पार गर्दा एक पैदल यात्रु घाइते भएका थिए । ०५५ सालमा निर्माण भएको उक्त पुल जीर्ण बन्दासम्म पनि कसैले मर्मत गरेका थिएनन् । पैदल यात्रु पुलमा लडेपछि मात्रै मर्मत गर्न थालिएको थियो । उक्त अकासे पुल अझै तयार भएको छैन ।
काठमाडौं महानगरमा १४ वटा अकासे पुल
काठमाडौ महानगरका मुख्य सडकमा १४ वटा अकासे पुल छन् । तीमध्ये आठवटा निजी कम्पनी, चारवटा महानगर र दुईवटा सडक विभागले निर्माण गरेका हुन् । यसमध्ये अधिकांश जीर्ण अवस्थामा छन् ।
पुल मर्मत गर्ने जिम्मा महानगरको मात्रै होइन : रामबहादुर थापा, प्रमुख, पूर्वाधार विभाग, काठमाडौं महानगर
हालको अवस्था र यात्रु चाप हेरेर अकासे पुल मर्मत–सम्भार गर्नुपर्ने हो । तर, हामीकहाँ अकासे पुल नियमित मर्मत हुन सकेको छैन । फेरि अकासे पुलको मर्मत गर्ने जिम्मा महानगरको मात्रै पनि होइन ।
महानगरको पूर्वाधार विभाग प्रमुख इन्जिनियर राम थापाका अनुसार रत्नपार्क, सुन्धारा, जमल क्षेत्रका ६ वटा अकासे पुल तत्काल मर्मत–सम्भार गर्नुपर्ने अवस्था छ । ‘अब पुलको अवस्था र यात्रुको चाप हेरेर मर्मत–सम्भार गर्नुपर्छ,’ उनले भने, ‘तिनीहरूको मर्मत गर्ने जिम्मा महानगरको मात्रै पनि होइन ।’ उनका अनुसार जुन निकायले निर्माण गरेका हुन्, तिनैले मर्मत र संरक्षण गर्नुपर्ने हो । उनका अनुसार चाबहिल, विष्णुमती करिडोर र रत्नपार्क क्षेत्रमा महानगरले चारवटा अकासे पुल बनाएको थियो । यी पुल निर्माण भएको पाँचदेखि दश वर्ष भएको छ । हालसम्म तिनीहरूको कुनै प्राविधिक जाँच भएको छैन । सरसफाइ र मर्मतसमेत हुन सकेको छैन । यी फलामे अकासे पुल नियमित मर्मत गरेर सञ्चालन गर्ने हो भने ५० वर्षसम्म टिक्ने महानगरको भनाइ छ ।
जमल, रत्नपार्क, सुन्धारा, नयाँ बसपार्क, चाबहिल क्षेत्रका फलामे अकासे पुल निर्माण गर्न ठेकदार कम्पनी इनोभेटिभ कन्सेप्ट प्रालिलाई जिम्मा दिइएको थियो । उक्त कम्पनीले ०६५ सालमै पुल निर्माण गरे पनि मर्मत भने गरेको छैन । महानगरले यी १४ वटा पुलमा राखिएका विज्ञापन बोर्डबाट वार्षिक २२ लाख ५५ हजार रुपैयाँ राजस्व उठाउँछ । तर, महानगरले पुल मर्मतमा भने खर्च गर्दैन ।
नयाँ पुल थप्ने योजना अलपत्र
मित्रपार्क र चाबहिल ओरालोमा महानगरले निर्माण सुरु गरेको फलामे अकासे पुलको फाउन्डेसन बनाएर अलपत्र छाडेको छ । यी दुईवटा पुलका लागि काठमाडौं महानगरले आव ०७८/७९ मै एक–एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत ९ माघमा काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले चार महिनामा निर्माण सक्ने गरी ती अकासे पुलको शिलान्यास गरेका थिए । सम्झौताअनुसार सबिरा कन्स्ट्रक्सनले गत जेठ मसान्तसम्म काम सक्नुपर्ने थियो । तर, अहिलेसम्म फाउन्डेसनबाहेक अन्य काम अघि बढेको छैन ।
कामपाले आव ०७८/७९ को बजेट योजनामै कालीमाटी चोक, रविभवन, त्रिवि शिक्षण अस्पतालनजिक, गंगालाल अस्पतालअगाडि, कोटेश्वर, बबरमहल, पुतलीसडक, पद्मोदय मोड, बागबजारमा अकासे पुल बनाउने योजना समेटेको थियो । त्यसअघि अध्ययन गरेर एउटा पुलबराबर एक करोड बजेट पनि विनियोजन गरिएको थियो ।
जोखिमपूर्ण पुल अब मर्मत हुन्छन् : महानगर
काठमाडौं महानगरमा रहेका पुराना, जोखिमपूर्ण र जीर्ण पुल अब छिट्टै मर्मत गरिने महानगरले जनाएको छ । सडक विभाग, महानगरपालिका र ट्राफिक प्रहरीबीच सोमबार भएको छलफलपछि महानगरले यी पुल मर्मत गर्ने जनाएको हो । महानगरले सुन्धारा, रत्नपार्क क्षेत्रका ६ वटा पुराना पुल मर्मत गर्ने जनाएको छ । पुलको अवस्था जाँचबुझ गर्न प्राविधिक टोलीलाई निर्देशन दिइसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।