कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले मिहिनेती र इमानदार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अंग रहेको बताएका छन्।

१९औँ राष्ट्रिय ज्यापु दिवस २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापु समुदायको उल्लेख्य योगदान रहेको बताए।

‘ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधि र कला–कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,’ उनले भने, ‘यस्ता महत्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलिन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो।’

ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गरे। नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ।

काठमाडौं उपत्यकाभित्रका ज्यापु समुदायले न्यूनतम आर्थिक,  भौतिक सुविधाबीच पनि आफ्नो मौलिक परम्परागत संस्कृतिलाई जीवन्त राख्न गर्दै आएको प्रयास सराहनीय रहेको उनले बताए। आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ।

सुझावित समाचार