सन् १९३० मा फिफाले पहिलोपटक विश्वकप आयोजना गर्यो । २२औँ संस्करण मध्यपूर्वी एसियाली राष्ट्र कतारमा चलिरहेको छ । विश्वयुद्धले विश्वकपका दुई संस्करण भएन । प्रत्येक विश्वकपमा ह्याट्रिक गर्नेको चर्चा हुन्छ । विश्वकपमा आठ सयभन्दा माथि खेल हुँदा ५३ ह्याट्रिक भएका छन् ।
सन् २००६ को विश्वकपमा ह्याट्रिक भएन । सन् १९५४ को विश्वकपमा सर्वाधिक आठ ह्याट्रिक भए । मंगलबार राति पोर्चुगलका २१ वर्षीय स्ट्राइकर गोन्कालो रामोसले स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरे। रामोसको ह्याट्रिक कतार विश्वकपमै पहिलो हो । विश्वकपमा अमेरिकाका बर्ट पाटेनाउडले पहिलो ह्याट्रिक गरेका थिए ।
ओलेग सालेन्को (रसिया)
सन् १९९४ (पाँच गोल)
सन् १९९४ मा अमेरिकामा आयोजना भएको विश्वकपमा दुई खेलाडीले ह्याट्रिक गरेका थिए । अर्जेन्टिनाका जाब्रियल बाटिस्टुटा र रसियाका ओलेग सालेन्कोले ह्याट्रिक गर्न सफल भए । क्यामरुनविरुद्ध ६–१ को जित निकाल्दा सालेन्कोले पाँच गोल गरेका थिए । उनले खेलको १५, ४१, ४४, ७२ र ७५ मिनेटमा गोल गरेका थिए । फिफा विश्वकपमा सालेन्को एकै खेलमा सर्वाधिक पाँच गोल गर्ने एक्ला खेलाडी हुन् । गोल्डेन बुट जित्न सफल सालेन्कोले एक वर्ष मात्रै राष्ट्रिय टोलीबाट खेलेका थिए । विश्वकपमा आठ खेल खेल्दा सालेन्कोले ६ गोल गरेका थिए । उनले युक्रेनबाट सन् १९९२ मा एक अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
अर्नस्ट विलिमोस्की
(पोल्यान्ड) सन् १९३८ (चार गोल)
सन् १९३८ मा फ्रान्समा आयोजना भएको विश्वकपमा चार ह्याट्रिक निस्किए । पोल्यान्डका अर्नस्ट विलिमोस्कीले सर्वाधिक चार गोल गरेका थिए । प्रिक्वार्टरफाइनलमा ब्राजिलविरुद्ध अतिरिक्त समयमा ६–५ ले पराजित हुँदा विलिमोस्कीले चार गोल गरेका थिए । उनले खेलको ५३, ५९, ८९ र ११८ मिनेटमा गोल गरे पनि पोल्यान्डलाई जित दिलाउन सकेनन् । यसै खेलमा ब्राजिलका लिओनिडासले ह्याट्रिक गरेका थिए । स्ट्राइकर विलिमोस्कीले एक वर्ष जर्मनीबाट खेल्दा पोल्यान्डबाट पाँच वर्ष खेलेका थिए ।
एडमिर मार्काेस (ब्राजिल)
सन् १९५० (चार गोल)
सन् १९५० ब्राजिलले आयोजना गरेको विश्वकपमा दुई खेलाडीले दुई ह्याट्रिक गरेका थिए । उरुग्वेका ओस्कार मिगुएजले तीन गोल र ब्राजिलका एडमिरले चार गोल ठोके । समूह चरणको अन्तिम खेलमा स्विडेनविरुद्ध ७–१ को जितमा एडमिरले चार गोल गरेका हुन् । विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका स्ट्राइकर एडमिरले आठ वर्ष ब्राजिलबाट खेल्दा ३९ खेलमा ३२ अन्तर्राष्ट्रिय गोल गरेका थिए । घरमै आयोजना भएको विश्वकपमा एडमिरले गोल्डेन बुट जित्दा ब्राजिल उपविजेता भएको थियो ।
सान्दोर कोक्सिस (हंगेरी)
सन् १९५४ (चार गोल) सन् १९५४ मा
स्विट्जरल्यान्डमा आयोजना भएको विश्वकपमा ह्याट्रिकको कीर्तिमान निकै बन्यो । विश्वकपको एउटै संस्करणमा आठ ह्याट्रिक भएको थियो । हंगेरीका सान्दोर कोक्सिसले एकै विश्वकपमा दुई ह्याट्रिकको कीर्तिमान रचे । समूह चरणमा दक्षिण कोरियाविरुद्धको खेलमा सान्द्रोसले ह्याट्रिक गरेका थिए । त्यसपछि अर्को खेलमा उनले पश्चिम जर्मनीविरुद्ध चार गोल गरेका थिए । पश्चिम जर्मनीविरुद्ध ८–३ को जितमा कोक्सिसले खेलको तेस्रो, २१, ६७ र ७८ मिनेटमा गोल गर्न सफल भए । बार्सिलोनाको स्ट्राइकरसमेत रहेका कोक्सिसले आठ वर्ष हंगेरीबाट खेल्दा ६८ खेलमा ७५ गोल गरेका थिए ।
जस्ट लुइस
फोन्टाइन (फ्रान्स)
संख्या : चार गोल
फ्रान्सेली बुबा र स्पेनिस आमाबाट जन्मिएका जस्ट फोन्टाइनले सन् १९५८ मा स्विडेनमा आयोजना भएको विश्वकपमा दुई ह्याट्रिक गर्न सफल भए । समूह चरणको खेलमा पाराग्वेविरुद्ध तीन गोल गरेका फोन्टाइनले तेस्रो स्थानको खेलमा पश्चिम जर्मनीविरुद्ध चार गोल गरेका थिए । उनले खेलको १६, ३६, ७८ र ८९औँ मिनेटमा पश्चिम जर्मनीविरुद्ध गोल गरेका थिए । सो खेलमा फ्रान्सले पश्चिम जर्मनीलाई ६–३ ले हरायो । फ्रान्सको राष्ट्रिय टोलीबाट सात वर्ष खेल्दा उनले २१ खेलमा ३० गोल गरेका थिए । विश्वकपमा स्ट्राइकर फोन्टाइनले ६ खेल खेल्दा १३ गोल गरेका थिए ।
युसेबियो डी सिल्भा (पोर्चुगल)
सन् १९६६ (चार गोल)
सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा पोर्चुगलका युसेबियो र इंग्ल्यान्डका ज्योफ हस्र्टको नाममा एक–एक ह्याट्रिक रह्यो । युसेबियोले सर्वाधिक चार गोल गरेका थिए । क्वार्टरफाइनलमा उत्तर कोरियाविरुद्ध ५–३ को जितमा युसेबियाले चार गोल गरे । उनले खेलको २७, ४३, ५६ र ५९औँ मिनेटमा गोल गर्दा दुई पेनाल्टीको साथ रह्यो । यस विश्वकपमा पोर्चुगल तेस्रो हुँदा युसेबिया ९ गोलका साथ सर्वाधिक गोलकर्ता चुनिएका थिए । हस्र्टले पश्चिम जर्मनीविरुद्ध फाइनलमा ह्याट्रिक गरेका थिए ।
इमिलियो बट्रागुएनो (स्पेन)
सन् १९८६ (चार गोल)
सन् १९८६ मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा चार ह्याट्रिक भएका थिए । स्पेनका इमिलियोले प्रतियोगिताको एक खेलमा चार गोल गर्न सफल भए । डेनमार्कविरुद्ध प्रिक्वार्टरफाइनलमा ५–१ को जित निकाल्दा इमिलियोले खेलको ४३, ५६, ८० र ८८औँ मिनेटमा गोल गरेका थिए । रियल म्याड्रिडको सर्वकालीन खेलाडी इमिलियोले सात वर्ष स्पेनको राष्ट्रिय टोलीबाट खेल्दा ६९ खेलमा २६ गोल गरे । दुईपटक विश्वकप खेलेका इमिलियो सन् १९८६ को विश्वकपमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् ।