साढे सात महिनापछि आयात प्रतिबन्ध फुकुवा

एक खर्ब लगानीको अटोमोबाइल व्यवसाय संकटमा

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

सरकारले सात महिना १३ दिनपछि आगामी पुसदेखि लागू हुने गरी आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा आपूर्ति प्रणाली खलबलिएर महँगी बढेसँगै शोधनान्तर स्थितिमा चाप पर्दै गएको थियो । कोभिडका कारण रेमिट्यान्समा आएको गिरावट र आयातमा भएको वृद्धिले विदेशी मुद्राको सञ्चिति घट्दै गयो । त्यसलाई रोकथाम गर्न सरकारले गत १३ वैशाखदेखि पहिलोपटक १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि पटक–पटक समय थप्दै सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिँदै आएको छ । १५ भदौदेखि आयात खुकुलो बनाउँदै सरकारले चार प्रकारका वस्तुमा मात्रै प्रतिबन्ध लगाएको थियो । त्यसमा मदिरा, स्मार्ट फोन र १५० सिसीमाथिका मोटरसाइकल र निजी प्रयोजनका सवारीसाधन छन् ।  

आयात प्रतिबन्ध लगाउनुअघि चैतमा एक खर्ब ५७ अर्ब रुपैयाँबराबर वस्तुको आयात भएको थियो । आयात प्रतिबन्ध कायम हुँदै गएको अवस्थामा गत कात्तिकमा एक खर्ब ३१ अर्ब रुपैयाँको मात्रै वस्तु आयात भएको थियो । तर, यसरी आयात घट्नुमा सरकारले लगाएको प्रतिबन्धभन्दा पनि विश्व बजारमा खाद्यान्न र इन्धनको मूल्यमा आएको कमी प्रमुख कारण रहेको अर्थविद्हरू बताँछन् ।

विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा सुधार आएपछि सरकारले आयात प्रतिबन्धलाई फुकुवा बनाएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा आयात उल्लेख्य दरमा घटेको र रेमिट्यान्समा भएको वृद्धिले शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा पुगेको छ । जबकि, गत आर्थिक वर्षको साउनपछि शोधनान्तर स्थिति क्रमशः ऋणात्मक बन्दै गएको थियो ।   

पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले पनि ब्याजदर बढाउन र आयात फुकुवा गर्न दबाब दिँदै आइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । विश्व व्यापार संगठनसँगको आबद्धता र विभिन्न देशहरूसँगको वाणिज्य सन्धिका कारण नेपालले आयात नियन्त्रणलाई निरन्तरता दिइरहन नमिल्ने भएकाले पनि फुकुवा गर्नुपरेको ती अधिकारीले भने । 

आयात खुल्दैमा गाडी बिक्री हुँदैन
 सुरेन्द्रकुमार उप्रेती, महासचिव, नाडा

सरकारले गाडीको आयात खोलेर मात्र हुँदैन । ‘इजी फाइनान्सिङ’ नभएसम्म आयात खोल्नुको औचित्य रहँदैन । किनभने, चर्को ब्याजदर र तरलता अभावका कारण गाडी बिक्री हुनेवाला छैन । यही अवस्था लम्बिए व्यवसाय टिकाउन गाह्रो हुन्छ । त्यसैले आन्दोलन जारी रहन्छ । आयात फुकुवा गरेर मात्र हुन्न । बैंकिङ सहजीकरण गरिदिनुपर्‍यो । तरलता बढाउने, ब्याजदर घट्ने अवस्था सिर्जना गर्नुपर्‍यो । कर्जा नीति परिमार्जन गर्नुपर्‍यो ।

सुझावित समाचार