नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेबाट मन्त्रीहरूले सिक्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको बताए।
गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै महासचिव भुसालले त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क गरे। गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको भन्दै उनले वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने बताए।
‘उहाँको विगतलाई लिएर कतिपयले टिप्पणी गर्ने गरेको पाइन्छ। तर, हामीले के बुझ्नुपर्छ भने मान्छे–मान्छे नै हो, जसले राम्रो काम पनि गर्छ। कहिले काहीँ काम गर्दै जाँदा गल्ती पनि गर्छ। मान्छेलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन,’ उनले भने।